नेपाली सेनाको आयोजनामा तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता–२०८३ औपचारिक रूपमा सुरु भएको छ । मिति २०८३ जेठ ४ गते बलाधिकृत रथी प्रदिप जंग के.सी.ले प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियोगितामा कुल १३ वटा इभेन्ट समावेश गरिएको छ भने देशभरका १३ क्लबबाट २१८ जना खेलाडीहरूको सहभागिता रहेको छ । वि.सं. २०७८ देखि सुरु गरिएको यस प्रतियोगिताले नेपालमा टेनिस खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । यस वर्षको संस्करणमा खुला तथा भेट्रान्स दुवै समूहका प्रतिस्पर्धा समावेश गरिएको छ ।
प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल तथा युगलका साथै ३५ वर्ष माथि, ४५ वर्ष माथि, ५५ वर्ष माथि, ६५ वर्ष माथि र ७० वर्ष माथिसम्मका विभिन्न उमेर समूहका इभेन्टहरू सञ्चालन हुनेछन् । जेठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, नेपाल टेनिस संघ, नेपाल ओलम्पिक कमिटीका पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, खेलाडी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।




