आज (साउन १ गते)देखि देशभर प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौँथली’ ले पहिलो दिनदेखि नै दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । फिल्मको प्रतिक्रिया बुझ्न विभिन्न हलमा पुगेका निर्माता, निर्देशक तथा कलाकारलाई दर्शकले उत्कृष्ट फिल्म हेर्न पाएको भन्दै धन्यवाद दिएका छन् । दर्शकले फिल्मको कथावस्तु, कलाकारहरूको सशक्त अभिनय तथा समाजलाई दिएको सकारात्मक सन्देशको खुलेर प्रशंसा गरेका छन् । काठमाडौंको रञ्जना सिनेप्लेक्समा फिल्म हेर्न दर्शकको उल्लेखनीय उपस्थिति देखिएको थियो। प्रदर्शनपछि धेरै दर्शक भावुक बनेका थिए ।
विशेषगरी ‘गौँथली’ पात्रको संघर्ष र छोरीको शिक्षाको महत्त्वलाई प्रस्तुत गरिएको कथाले आफूहरूलाई गहिरो रूपमा छोएको दर्शकहरूको प्रतिक्रिया थियो । फिल्मका निर्देशक डा. कपिल रिजालले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सम्पूर्ण निर्माण टिम उत्साहित बनेको बताए । उनले भने, “हामी बिहानदेखि विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छौँ । फिल्ममार्फत दिन खोजेको सन्देश दर्शकले आत्मसात् गर्नुभएको छ ।
‘गौँथली’को संघर्षलाई उहाँहरूले महसुस गर्नुभएको छ, यही हाम्रो सफलता हो ।” अभिनेता अरुण क्षेत्रीले पनि दर्शकले आफ्नो पात्रलाई अत्यधिक माया गरेको बताए । उनले फिल्ममा आफूले बोलेको चर्चित संवाद ‘गाईको घ्यू, आई लभ यू’ दोहोर्याउँदै दर्शकले फिल्मको खुलेर प्रशंसा गरेको उल्लेख गरे । उनले भने, “यो मेरो करिअरकै सबैभन्दा चुनौतीपूर्ण पात्र थियो। दर्शक पात्रसँग भावनात्मक रूपमा जोडिनुभएको छ, यही हाम्रो सबैभन्दा ठूलो उपलब्धि हो ।”
फिल्मकी शीर्ष अभिनेत्री सिम्रन खड्काले पनि दर्शकले आफूलाई छोरीझैँ माया गर्दै पात्रसँग भावनात्मक रूपमा जोडिएको प्रतिक्रिया दिएको बताइन् । उनले भनिन्, “धेरैले ‘गौँथली’को संघर्ष आफ्नै जीवनसँग मिलेको महसुस गर्नुभएको छ। यही प्रतिक्रिया हाम्रो लागि सबैभन्दा ठूलो पुरस्कार हो ।” बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक डा. कपिल रिजाल पछिल्ला केही वर्षदेखि फिल्म निर्माण तथा निर्देशनमा सक्रिय छन् ।
उनका अनुसार चिकित्सकीय अनुभवले नै फिल्मका विषयवस्तु छनोटमा प्रभाव पारेको छ । यसअघि उनले निर्देशन गरेको ‘ह्यारीकी प्यारी’मा स्पर्म डोनेसनको विषय उठाइएको थियो भने ‘गौँथली’मा माइल्ड अटिजम भएका व्यक्तिको जीवन र ग्रामीण समाजमा छोरीको शिक्षाको महत्त्वलाई मुख्य विषयवस्तु बनाइएको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारहरूको अभिनय रहेको छ । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । घर, परिवार, सम्बन्ध र आत्मीयताको भावलाई केन्द्रमा राखिएको फिल्म ‘गौँथली’को वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन् ।




