नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने लक्ष्यसहित आयोजना गरिएको ‘PWXM: Wrestle Castle’ भव्य रूपमा सम्पन्न भएको छ । ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजित कार्यक्रममा उल्लेख्य दर्शक सहभागिताका बीच अन्तर्राष्ट्रिय स्तरका रेस्लिङ प्रतिस्पर्धा तथा सांगीतिक प्रस्तुति सम्पन्न भएको हो । कार्यक्रमको मुख्य आकर्षणका रूपमा नेपाल आएका विश्वप्रसिद्ध जापानी रेस्लिङ लेजेन्ड तथा WWE Hall of Famer तात्सुमी फुजिनामीले नेपाली दर्शकबाट प्राप्त गरेको माया र उत्साहप्रति खुसी व्यक्त गरे ।
उनीसँगै आएका जापानी रेस्लरहरूले पनि नेपालको रेस्लिङप्रतिको बढ्दो आकर्षणबाट प्रभावित भएको बताउँदै भविष्यमा यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममार्फत नेपालसँग सहकार्य गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा जापानका लेओना फुजिनामी, हरु योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो र ह्योउ ओगवालगायतका व्यावसायिक रेस्लरहरूले नेपाली खेलाडीसँग रोमाञ्चक प्रतिस्पर्धा गर्दै दर्शकलाई अविस्मरणीय अनुभव दिलाए ।
नेपाली टोलीको नेतृत्व बुलेट फ्लो (थापाकाजी) ले गरेका थिए। साथै, जोन ब्रीज, लिजार्ड किङ्गलगायतका नेपाली रेस्लरहरूको प्रदर्शनले पनि दर्शकको उच्च प्रशंसा बटुल्यो । रेस्लिङ प्रतिस्पर्धासँगै चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो। हलभरि उपस्थित दर्शकहरूको उत्साह, समर्थन र सक्रिय सहभागिताले कार्यक्रमको सफलतामा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
पिग ई प्रोडक्सनको प्रस्तुति तथा नखिपोट युथ क्लबको सह–आयोजनामा सम्पन्न कार्यक्रमका निर्देशक तकाशी ताकेइ (टक बिष्ट) ले कार्यक्रमको सफलताले नेपालमा अन्तर्राष्ट्रिय स्तरको व्यावसायिक रेस्लिङ आयोजना गर्ने सम्भावना अझ बलियो भएको बताए।
आयोजकका अनुसार ‘PWXM: Wrestle Castle’ ले नेपाल र जापानबीच खेल तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै नेपाली रेस्लरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको छ।




