आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ को नयाँ मार्मिक गीत ‘कहाँबाट ल्याऊँ बाबा पीडा भुल्ने मुटु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विपत्तिको समयमा सन्तानले आफ्ना बुवाप्रति व्यक्त गर्ने भावनात्मक अनुभूतिलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ । गीतका शब्द फिल्मका अभिनेता प्रमोद दीपले लेखेका हुन् भने संगीत अभि सुनारको रहेको छ । चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ ।
पूजा गुरुङ र जश्मिन श्रेष्ठको निर्माण रहेको फिल्म ‘हली’ पछिल्लो समय प्रचार–प्रसारसँगै दर्शकमाझ चर्चामा छ । फिल्मको लेखन तथा निर्देशन व्यावसायिक रूपमा सफल निर्देशक ओम प्रतीकले गरेका हुन् । फिल्ममा प्रमोद दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहारीको अभिनय रहेको छ । निर्देशक ओम प्रतीक स्वयं पनि फिल्ममा विशेष भूमिकामा देखिएका छन् ।
यसअघि सार्वजनिक गरिएको प्रमोसनल गीतमा दीपाश्री निरौला, पूजा शर्मा, मिथिला शर्मा लगायत कलाकारहरूको प्रस्तुति दर्शकमाझ लोकप्रिय बनेको थियो । निर्माण पक्षका अनुसार नयाँ भावनात्मक गीतले पनि दर्शकको मन छुने विश्वास लिइएको छ । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको फिल्म ‘हली’ ले समाज र देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि एउटै ‘हली’ पनि पर्याप्त हुन्छ भन्ने सशक्त सन्देश बोकेको छ ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको अर्को मुख्य गीतमा बाबुल गिरी र गायिका शान्ति श्री परियारको स्वर समावेश छ । फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सह–निर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् ।
राहुल राईको छायांकन रहेको फिल्मको सम्पादन रामप्रसाद चौधरी र विपिन मल्लले गरेका छन् भने द्वन्द्व निर्देशन कुमार महर्जनको रहेको छ । नेसनल सिने ग्रुप प्रालिले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । देशभित्र र विदेशमा बढ्दो चर्चासँगै फिल्म ‘हली’ ले प्रदर्शनपछि राम्रो व्यापार गर्ने अपेक्षा निर्माण पक्षले गरेको छ ।




