अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । आगामी भदौ २६ गते देशभर प्रदर्शनमा आउने फिल्मको प्रचारस्वरूप निर्माण टिमले साउन ११ को अवसर पारेर गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायत कलाकारहरूको आकर्षक अभिनय तथा प्रस्तुति देख्न सकिन्छ ।
गुरुङ समुदायको मौलिक संस्कृति, भेषभूषा र जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ । गीतमा हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत तथा सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको छ। गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन् ।
संगीत संयोजनमा सञ्जीव बराइली (गितार), पोषण मगर (मादल), रत्न विश्वकर्मा (बाँसुरी) र मनीष गन्दर्ब (सारङ्गी)को योगदान रहेको छ भने गीतको मिक्सिङ जन्रिक्सले गरेका छन् । ‘जुनी जाला’ले गुरुङ संस्कृतिअनुसार सजाइएको मौलिक परिवेशमा प्रेम, समर्पण र जीवनभर साथ निभाउने प्रतिबद्धताको भाव प्रस्तुत गरेको छ । स्थानीय जीवनशैली, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशसँगै फिल्मको कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध र संघर्षलाई पनि गीतमार्फत प्रभावकारी रूपमा संकेत गरिएको छ ।
निर्देशक माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै लक्ष्य प्राप्तिका लागि गरिने संघर्षको कथा हो । फिल्ममा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधर लगायत कलाकारहरूको अभिनय रहेको छ । माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा निर्देशन स्वयं माओत्से गुरुङकै हो ।
फिल्ममा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी. कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ ।फिल्मका निर्माता मिन कोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ हुन् भने डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर रहेका छन् ।
अन्य गीतमा शिव बराइली र सूरज तमुका शब्द तथा संगीत रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ । निर्माण टिमका अनुसार फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार हङकङ, अष्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको छ ।
हरितालिका तीजको अवसर पारेर भदौ २६ गते प्रदर्शनमा आउने फिल्म ‘पेन्सन पट्टा’ ले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ सशक्त रूपमा प्रस्तुत गर्ने विश्वास निर्माण पक्षले व्यक्त गरेको छ ।




