रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममार्फत फिल्मको घोषणा गरिएको हो । घोषणा कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली फिल्म क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले फिल्मको सफलताको शुभकामना व्यक्त गरेका थिए । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्मको छायांकन यही सातादेखि सुरु हुने निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता रघुनाथ सापकोटा हुन् ।

कार्यक्रममा बोल्दै निर्माता सापकोटाले रघुजी फिल्म्सबाट यसअघि घोषणा गरिएका अन्य परियोजनाहरू पनि यस फिल्मपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने जानकारी दिए । फिल्मका गीत पशुपति शर्माले तयार गर्नेछन् भने छायांकनको जिम्मेवारी सिनेमाटोग्राफर संकल भुजेलले सम्हाल्नेछन् । निरज नेपाल कार्यकारी निर्माता रहेको फिल्ममा शमशेर लामा मेकअप तथा जीवन पोखरेल भेषभूषाको जिम्मेवारीमा रहेका छन् ।
फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, बेगम नेपाली, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण विक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना तथा राजु तिमल्सिनालगायत कलाकारहरूको अभिनय रहनेछ ।
पूर्ण मनोरञ्जनात्मक कमेडी जनरामा निर्माण हुन लागेको ‘तीन तीघ्रे क्या बिग्रे’ले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनको नयाँ स्वाद दर्शकमाझ पस्किने लक्ष्य रहेको निर्देशक अमरदीप सापकोटाले बताए । फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले सुरक्षित गरेको निर्माण पक्षले जनाएको छ ।




