प्राकृतिक विपद्ले निम्त्याएको पीडामा परेका नागरिकको साथमा उभिँदै महालक्ष्मी ग्रुप अफ कम्पनीजले १० लाख रुपैयाँ सहयोग गरेको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो।
महालक्ष्मी ग्रुपका अनुसार संस्थापकका आमाबुबा अकिल बहादुर खड्गी र महालक्ष्मी खड्गीको तर्फबाट सहयोग रकम उपलब्ध गराइएको हो। विपद्मा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै खड्गी परिवारले पीडित तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
भोटेकोशीमा आएको बाढीले रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। विपद्पछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको आवश्यकता बढिरहेका बेला विभिन्न व्यक्ति, संस्था तथा निजी क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ।
महालक्ष्मी ग्रुपले भने विपद्को समयमा आर्थिक सहयोग मात्र नभई सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ। यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको ग्रुपले यसपटकको सहयोगलाई विपद्मा परेका नागरिकप्रतिको आफ्नो जिम्मेवारीका रूपमा प्रस्तुत गरेको छ।

बाढीबाट प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यसँगै निजी क्षेत्र, सामाजिक संस्था र नागरिक समाजको सहकार्य आवश्यक रहेको अवस्थामा महालक्ष्मी ग्रुपको यो सहयोगले राहत तथा पुनर्स्थापनाको अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।
ग्रुपले बाढी तथा पहिरो प्रभावितको उद्धार र राहतमा अहोरात्र खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय समुदायप्रति धन्यवाद तथा आभार समेत व्यक्त गरेको छ।




