स्पार्कल इन्टरटेन्मेन्टद्वारा आयोजना हुँदै आएको ‘मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को औपचारिक घोषणा भएको छ । शनिबार साँझ तिनकुनेस्थित रोयल म्याजेस्टी इभेन्टमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको पाँचौँ संस्करणको घोषणा गर्दै यस वर्षको कार्यक्रम, उद्देश्य तथा कार्यतालिकाबारे जानकारी गराइएको हो ।
स्पार्कल इन्टरटेन्मेन्टकी संस्थापक तथा आयोजक नीतु श्रेष्ठले सिजन ५ लाई विगतका संस्करणभन्दा अझ भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गरिने बताउनुभयो । साथै, प्रतियोगिताले महिलाहरूको प्रतिभा, आत्मविश्वास तथा नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

पूर्व मिस नेपाल उषा खड्गीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उहाँलाई प्रतियोगिताको ब्रान्ड एम्बासडरका रूपमा समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा कोरियोग्राफर रोजिन शाक्य, गत संस्करणकी विजेता मीरा ढकाल, फर्स्ट रनरअप प्रतिक्ष्या खनाललगायतको उपस्थिति रहेको थियो । आयोजक संस्थाका अनुसार प्रतियोगितामा नेपालभरका १८ देखि ४५ वर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरूले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको अडिसन असार २७ गते आयोजना गरिनेछ भने ग्रान्ड फिनाले भदौ ६ गते सम्पन्न हुनेछ । महिला सशक्तिकरण, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनलाई मुख्य उद्देश्य बनाएको प्रतियोगिताको यस संस्करणमा ‘द कृश्माज कलेक्सन’ गहना साझेदार तथा ‘एभेन्टोज’ भोटिङ साझेदारका रूपमा आबद्ध भएका छन् ।




