आगामी साउन २९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लज्जावती’को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ । राजधानीमा बिहीबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको गीतमा सहिमा श्रेष्ठ र रवि ओडको स्वर रहेको छ। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार मुकुन भुसाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन् । डान्सिङ नम्बरका रूपमा तयार गरिएको गीतले दर्शक तथा श्रोताको मन जित्ने निर्माण टिमको विश्वास छ ।
आहा फिल्म्सको ब्यानरमा केन मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन्। सौरभ ओली प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता कमलप्रसाद शर्मा र सन्दीप कुमार रोका हुन् । फिल्ममा दिव्यराज सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन तथा तारा थापाको सम्पादन रहेको छ ।
‘लज्जावती’मा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सीपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेललगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मलाई कुबेर सिने डिस्ट्रिब्युसनले देशव्यापी रूपमा वितरण गर्नेछ ।




