सामिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति तथा सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा निर्माण भएको नेपाली फिल्म ‘जदौं’को पहिलो गीत ‘जदौं हजुर’ सार्वजनिक गरिएको छ । फिल्म आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ । बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा राजनराज शिवाकोटी र रचना रिमालको स्वर रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरूको आकर्षक प्रस्तुति देख्न सकिन्छ भने कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।
फिल्ममा मुकुन भुसाल, ऋचा शर्मा, नीति शाह, प्रभात पाल ठकुरी तथा डेब्यु अभिनेत्री राजश्री थापाको मुख्य भूमिका रहेको छ । साथै विनोद न्यौपाने, नरेश पौडेल, विशाल पहारी, रोमा बिष्टा, खड्गबहादुर पुन मगर (खबपु), सुन्दर धिताल, रोहित कार्की, प्रदीप ढकाल, गीता अधिकारी, दीपक केसी, सुमित्रा देवकोटा, मोहन अधिकारी, स्वस्तिका चौधरी, सन्ध्या श्रेष्ठ, विनय पौडेल, शुक्र मगर, दीपा राई, अमर राउले, दीपक पोखरेल, टीका खड्का र लक्ष्मण भण्डारीको अभिनय रहेको छ । अतिथि कलाकारका रूपमा सीपी पुडासैनी (धतुरे) तथा बाल कलाकार अर्जुन भण्डारी पनि चलचित्रमा देखिएका छन् ।
फिल्मको कथा, पटकथा तथा संवाद कागी लिम्बुले तयार गरेका हुन् भने निर्देशन अञ्जन शर्मा र कागी लिम्बुले संयुक्त रूपमा गरेका छन् । सृजना शर्मा र मनीष शर्मा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता शान्ति पुडासैनी हुन् । सह–निर्मातामा राजाराम सुवेदी, दीपक ओली, नारायण शास्त्री, सुमित्रा देवकोटा र दिली पोखरेल रहेका छन् ।
श्याम तामाङ र नवराज उप्रेतीको छायांकन रहेको फिल्मको वितरण एनजीसीएन (NGCN)ले गर्नेछ। निर्माण पक्षले ‘जदौं हजुर’ गीतसँगै चलचित्रको प्रचार–प्रसारलाई औपचारिक रूपमा अघि बढाएको जनाएको छ। ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र मनोरञ्जनात्मक कथावस्तु समेटिएको फिल्म ‘जदौं’ आगामी असोज ९ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।




