ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल प्रेजेन्ट्स मिस युनिभर्स नेपाल २०२६’ का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ । आयोजक संस्थाले शुक्रबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित कार्यक्रममा यस वर्षको प्रतियोगिताको अडिसन प्रक्रिया औपचारिक रूपमा सुरु भएको जानकारी दिएको हो । यस वर्षको प्रतियोगिता ‘Perfect As You Are’ (तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ) भन्ने नारासहित आयोजना हुँदैछ ।
आयोजकका अनुसार नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी महिलाको खोजी गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो । मिस युनिभर्स नेपालकी नेसनल डाइरेक्टर संगीता पुरीले यस वर्षको संस्करणलाई अझ भव्य र व्यवस्थित बनाउन विशेष तयारी गरिएको बताइन् । उनका अनुसार प्रतियोगिताको ग्रान्ड फिनाले आगामी सेप्टेम्बर ६ मा सोल्टी होटलमै आयोजना हुनेछ ।
आयोजक संस्थाकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) सवि पुरीले यस वर्षदेखि अविवाहित र विवाहित दुवै महिलाले प्रतियोगितामा सहभागी हुन सक्ने जानकारी दिइन्। साथै, विदेशमा बसोबास गर्ने गैरआवासीय नेपाली (एनआरएन) महिलाहरूले पनि प्रतियोगितामा आवेदन दिन सक्ने व्यवस्था गरिएको उनले बताइन् ।
मिस युनिभर्स नेपाल २०२५ की विजेता सान्या अधिकारीको सफल कार्यकालपछि सुरु भएको नयाँ संस्करणले नेपालभित्र र विदेशमा रहेका महत्वाकांक्षी नेपाली युवतीहरूलाई आवेदन दिन आह्वान गरेको छ। प्रतियोगिताको कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्नेछन् ।आयोजकले “के तपाईं नै मिस युनिभर्स नेपाल २०२६ बन्ने अर्को व्यक्तित्व हुनुहुन्छ?” भन्ने सन्देशसहित इच्छुक युवतीहरूलाई मुख्य प्रतिस्पर्धामा सहभागी हुन आग्रह गरेको छ ।
यस संस्करणमा प्रतियोगीहरूको व्यक्तिगत पहिचान, सामाजिक वकालत र नेतृत्व क्षमतालाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ । प्रतियोगितामार्फत नेपालमा सौन्दर्य प्रतियोगिताको स्तरलाई अझ उचाइमा पुर्याउने लक्ष्य राखिएको पनि बताइएको छ ।
यस वर्षको प्रतियोगिताको टाइटल स्पोन्सर विद्युतीय सवारीसाधन ब्रान्ड दिपल रहेको छ भने एक्स–एज र अमृत शुद्ध सूर्यमुखी तेल सह–प्रायोजकका रूपमा आबद्ध भएका छन् ।
सहभागीहरूको व्यक्तिगत तथा व्यावसायिक विकासका लागि उत्कृष्ट वातावरण निर्माण गर्न सबै साझेदार संस्था प्रतिबद्ध रहेको आयोजकले जनाएको छ । दिपलका सीईओ विवेक सिकारियाले मिस युनिभर्स नेपालसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै यस साझेदारीले प्रतिभाशाली नेपाली महिलालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे ।
आयोजकका अनुसार आवेदन प्रक्रिया औपचारिक रूपमा खुलिसकेको छ । इच्छुक तथा योग्य युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत आवेदन दर्ता गर्न सक्नेछन् ।




