वरिष्ठ कलाकार तथा निर्देशक निर शाहले नयाँ नेपाली फिल्म ‘प्रिन्स’ निर्देशन गर्ने भएका छन् । शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै फिल्मको निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो । रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको पहिलो गीतमा निर शाहकै शब्द, वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर रहेको छ ।
फिल्मको कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारीले लेखेका छन् । फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसरको रूपमा आबद्ध छन् ।
निर्माण पक्षका अनुसार फिल्मको छायांकन तयारी अन्तिम चरणमा पुगेको छ । कलाकार तथा अन्य प्राविधिक टोलीको नाम भने उपयुक्त समयमा सार्वजनिक गरिने जनाइएको छ । अनुभवी निर्देशक निर शाहले ‘प्रिन्स’मार्फत नयाँ कथावस्तु र फरक प्रस्तुतिसहित पुनः दर्शकमाझ आउने तयारी गरेका छन् ।




