९० को दशकमा ‘मेरी ओकिली’ र ‘झ्याबाट हेर’ जस्ता लोकप्रिय गीतमार्फत चर्चामा आएका गायक अनिश ‘ओकिली’ सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ गीत ‘स्वर्ग मेरो’ सार्वजनिक गरेका छन् । नेपाली–अमेरिकी गायक, संगीतकार तथा निर्माता ओकिलीले शब्द, संगीत र स्वर आफैँले सम्हालेको यस गीतमा प्रेमभाव व्यक्त गरिएको छ । पप-सफ्टरक शैलीमा तयार गरिएको गीतमा ओकिली आफैँ भिडियोमा पनि देखिएका छन् । उनीसँगै एरिशा श्रेष्ठले अभिनय गरेकी छन् ।
गीतको म्युजिक भिडियो अमेरिकाको रमणीय दृश्यमा छायांकन गरिएको छ । छायांकन, सम्पादन, रंग संयोजन र निर्देशन गायक तथा संगीतकार जेम्स प्रधानले गरेका छन्। भिडियोमा आफूले अभिनय गर्नु फरक अनुभव भएको ओकिलीले बताएका छन् । “गीत तयार गर्नु मात्र होइन, भिडियोमा पनि आफैँ प्रस्तुत हुनु विशेष रह्यो । यो गीत प्रेमको काल्पनिक संसारको चित्रण हो,” ओकिलीले बताए ।
‘रिदम काठमाडौँ’ नामक गीतिसंग्रह पछाडि उनी यसपटक सिङ्गल ट्रयाक लिएर आएका छन् । उनले भने, “एउटा गीत तयार पार्न सजिलो पनि हुन्छ, अनि प्रचारप्रसारका हिसाबले पनि प्रभावकारी हुन्छ ।” ओकिलीले आफ्ना पुराना र नयाँ श्रोताले आफ्नै युट्युब च्यानलमार्फत गीत सुन्न सक्ने व्यवस्था मिलाएका छन्। “मेरा गीतहरू एकै ठाउँमा भेटिओस् भनेर पनि आफ्नै च्यानलबाट सार्वजनिक गरेको हुँ,” उनले स्पष्ट पारे ।
१९९० को दशकमा ‘ओकिली’ ब्यान्डबाट नेपाली संगीतमा प्रवेश गरेका उनले ‘गुलाबी जाडो’, ‘जुनेली रात, ‘तिम्रो बानी ब हो’, ‘तिमी नै राम्री’ जस्ता गीतहरू दिएका छन् । पछिल्लो गीत ‘सिमला भुवा’ समेत श्रोताले मन पराएका थिए । हाल क्यालिफोर्नियाको स्याक्रामेन्टोमा बस्दै आएका गायक ओकिली नेपाली पप संगीतमा भावनात्मक कथावस्तु मिसाएर निरन्तर सक्रिय छन् । संगीत क्षेत्रमा उल्लेखनीय योगदानका लागि उनलाई नोबेल पुरस्कार विजेता डा. चार्ल्स टाउन्सबाट ‘युथ अचिभमेन्ट अवार्ड’ समेत प्राप्त भइसकेको छ।




