नेपालकै चर्चित र्याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ सिजन ३ मा उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका छन् । हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै कालु म्यान, योङ्ग लायन, शब्दकार, के एक्स, हप्पु, सीपी किङ, विट्टी, इतिश, गुडबोई र ज्याज्जी टप १० मा स्थान बनाउन सफल भएका हुन् । निर्माण टिमका अनुसार यस सिजनका लागि हजारौँ डिजिटल आवेदन प्राप्त भएका थिए ।
त्यसपछि पोखरा, बुटवल, इटहरी, काठमाडौं तथा भारतको सिलिगुडीमा समेत भौतिक अडिसन सञ्चालन गरिएको थियो । विभिन्न चरणको प्रतिस्पर्धा पार गर्दै उत्कृष्ट १० प्रतिस्पर्धी छनोट भएका हुन् । टप १० मा पुगेका प्रतिस्पर्धीहरूले फरक–फरक र्याप शैली, दमदार फ्लो, सिर्जनात्मक लेखन र प्रभावशाली स्टेज प्रस्तुति मार्फत निर्णायक र दर्शकको मन जित्दै आएका छन् । आगामी एपिसोडहरूमा उनीहरूबीचको प्रतिस्पर्धा अझ रोमाञ्चक र कडा हुने अपेक्षा गरिएको छ ।
रेड बुलको प्रस्तुतिमा निर्माण भइरहेको ‘नेपहपको श्रीपेच’ सिजन ३ ले नेपाली हिपहप क्षेत्रमा नयाँ प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ । कार्यक्रम हरेक मंगलबार र बुधबार एपी वान टेलिभिजन तथा ओएसआर रियालिटी मार्फत प्रसारण हुँदै आएको छ ।
यस सिजनका विजेताले १० लाख रुपैयाँ नगद, वर्ल्ड टुरको अवसर तथा विभिन्न ब्रान्ड एन्डोर्समेन्ट प्राप्त गर्नेछन् । त्यसैगरी उपविजेताले ५ लाख रुपैयाँ नगदसँगै विदेशमा प्रस्तुति दिने अवसर पाउनेछन् । दामी मिडियाले निर्माण गरिरहेको ‘नेपहपको श्रीपेच’ सिजन ३ मा भ्योमा, मानस घले, यु.एन.डी.बी. र योद्धा निर्णायकको भूमिकामा रहेका छन् ।




