फेसनसम्बन्धी नेपालको अग्रणी शैक्षिक संस्था आईआईएफटी (School of Fashion and Interior Design) ले आयोजना गर्दै आएको फेसन डिजाइन प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’ को १३औँ संस्करण सम्पन्न भएको छ । शनिबार साँझ आयोजित प्रतियोगितामा आईआईएफटी बागबजार र कुमारीपाटीका १५५ विद्यार्थीले आफ्ना मौलिक फेसन डिजाइन प्रस्तुत गरेका थिए। प्रतियोगितामा डिजाइनहरू ‘डान्सिङ विथ द स्टार्स’, ‘अराउन्ड द वर्ल्ड’, ‘ग्यालाक्टिक फेसन’ र ‘अ प्यारालल युनिभर्स’ गरी चार फरक अवधारणामा प्रदर्शन गरिएको थियो।
चारै विधाबाट उत्कृष्ट डिजाइनर तथा पब्लिक च्वाइस विजेता चयन गरिएको छ। ‘डान्सिङ विथ द स्टार्स’ विधामा प्रतियोगी नम्बर २४ प्रेशा थापा उत्कृष्ट डिजाइनर घोषित भइन् भने पब्लिक च्वाइस अवार्ड प्रतियोगी नम्बर २१ सुजाता खनालले जितिन् । ‘अराउन्ड द वर्ल्ड’ विधामा सुस्मिता ढुंगाना उत्कृष्ट डिजाइनर बन्न सफल भइन्। उनले सोही विधाको पब्लिक च्वाइस अवार्ड पनि आफ्नो नाममा पारिन् ।
त्यसैगरी ‘ग्यालाक्टिक फेसन’ विधामा प्रतियोगी नम्बर १०८ जया थापा उत्कृष्ट डिजाइनर घोषित भइन् भने पब्लिक च्वाइस अवार्ड प्रतियोगी नम्बर ८४ अनुराधा बोहरा कार्कीले जितिन् । ‘अ प्यारालल युनिभर्स’ विधामा प्रतियोगी नम्बर ११६ सृजना श्रेष्ठ उत्कृष्ट डिजाइनर घोषित भइन् भने पब्लिक च्वाइस अवार्ड श्रीति पाण्डेले हात पारिन् ।

उत्कृष्ट डिजाइनरतर्फका विजेताले जनही २० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र तथा विभिन्न उपहार प्राप्त गरे। पब्लिक च्वाइस अवार्ड विजेतालाई जनही १० हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र उपहार प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा अग्रज फेसन डिजाइनर तथा इन्टरप्रेनर मुक्ता श्रेष्ठ, निभा श्रेष्ठ, निशा श्रेष्ठ, रजनी माली तथा महेश महर्जन रहेका थिए। कार्यक्रमको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको मुख्य प्रेक्षालयमा आयोजित कार्यक्रममा फेसनप्रेमीको उल्लेखनीय उपस्थिति रहेको थियो। करिब तीन घण्टासम्म चलेको शोमा विद्यार्थीहरूले आफ्नै डिजाइन आफैँ मोडल बनेर प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिनेत्री दिया मास्के, एलिजा गौतम, टेलिभिजन प्रस्तोता तथा मिस इको इन्टरनेसनल सेजल राजभण्डारी र सञ्चारकर्मी ओसिन सिटौलाको विशेष उपस्थिति रहेको थियो ।
आकर्षक प्रकाश सजावट, लयबद्ध संगीत र व्यावसायिक क्याटवाकका कारण कार्यक्रम अन्तर्राष्ट्रिय स्तरको फेसन शोझैँ देखिएको थियो । आईआईएफटीका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिव्यक्त गर्ने उत्कृष्ट मञ्चका रूपमा ‘ड्रेस टु इम्प्रेस’लाई हरेक वर्ष अझ भव्य बनाउँदै आएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई नयाँ अवधारणा, मौलिक सोच र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।




