असोज २ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘झिंगे दाउ २’ को पहिलो गीत ‘महिमा आमाको’ सार्वजनिक गरिएको छ । कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रु नेपाल प्रा.लि.को प्रस्तुतिमा बनेको फिल्मको गीतले आमाको माया, त्याग र सम्मानका साथै वृद्धाश्रममा बस्न बाध्य भएका आमाबुबाको यथार्थलाई भावुक ढंगले प्रस्तुत गरेको छ । गीतमा प्रमोद खरेल र मनिषा सुनारको स्वर, डा. कृष्णहरि बरालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।
मार्मिक शब्द र संगीतले सजिएको गीतले फिल्मको भावनात्मक कथावस्तुको समेत संकेत गर्छ । गीतको भिडियोमा अतिथि कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मासँगै मुख्य कलाकार आर्यन सिग्देल, हिउँवाला गौतम, बसुन्धरा भुसाल र चैत्यदेवी सिंहलाई फिचर गरिएको छ। गीतको भावअनुसार कोरियोग्राफर रामजी लामिछानेले दृश्य संयोजन गरेका छन् भने छायांकनमा निर्माण टिमले विशेष मेहनत गरेको देखिन्छ ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा सुलभ प्रतिक देउजा, प्रतिक देउजा र समिक्षा देउजाको लगानी रहेको छ । विष्णु घिमिरे ‘कल्पित’ डीओपी रहेको फिल्ममा मित्र डी. गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन रहेको छ । फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुसाल, रेनु प्रधान, विनोदकुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाको अभिनय रहेको छ । साथै, मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा विशेष भूमिकामा देखिनेछन् ।
परिच्छेद सेनको पटकथा तथा संवाद, गोविन्द फुयाल र शिशिर चालिसेको लेखन रहेको फिल्ममा विवेक बस्नेत र ईश्वर सिंखेमानको छायांकन तथा ईश्वर घिमिरेको प्रोडक्सन व्यवस्थापन रहेको छ । निर्माण टिमले केही दिनअघि पोस्टर सार्वजनिक गर्दै प्रचारप्रसार सुरु गरेको थियो । पहिलो गीत सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकमाझ थप उत्साह बढ्ने अपेक्षा गरिएको छ ।
तीन वर्षअघि प्रदर्शनमा आएको ‘झिंगे दाउ’ले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको थियो । सोही फिल्मको सिक्वेलका रूपमा निर्माण भएको ‘झिंगे दाउ २’ले पनि असोज २ गतेदेखि दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ । फिल्मको नेपाल वितरण एप्पल इन्टरटेन्मेन्टले गर्नेछ ।




