गत बैशाख २५ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले बक्सअफिसमा उत्साहजनक व्यापार गरिरहेको छ । निर्माण टिमका अनुसार फिल्मले हालसम्म ५ करोड ७६ लाख रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ भने यो हप्ता ८ करोड नजिक पुग्ने अनुमान गरिएको छ । यसैबीच, फिल्मको निर्माण पक्षले आमा र छोरीको सम्बन्धलाई ट्रिब्युट स्वरूप नयाँ गीत ‘साहारा तिमी छौं’ सार्वजनिक गरेको छ ।
यसअघि लिरिकल भर्सनमा रुचाइएको उक्त गीतको भिडियोले पनि दर्शकको मन जित्ने विश्वास निर्माण टिमले व्यक्त गरेको छ । गीतमा जयन जे वाइवाको शब्द तथा संगीत रहेको छ भने समीक्षा अधिकारीको स्वर सुन्न सकिन्छ । साथै बाल गायनमा दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ । कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर समावेश गरिएको छ ।
गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, समाइरा थापा र प्रशंसा सुवेदीलगायत कलाकारहरू फिचर्ड छन् । भिडियोले आमा र छोरीबीचको प्रेम, संघर्ष र भावनात्मक सम्बन्धलाई मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्ममा रवीन्द्रसिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, प्रदीप ढकाल, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ । यस फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गरेका हुन् ।
यम थापाको निर्देशनमा बनेको फिल्मको पटकथा तथा संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने निर्माता म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ रहेका छन् ।
फिल्मको प्राविधिक पक्षमा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादन मित्रदेव गुरुङ, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक रोहित शाक्य र शैलेश श्रेष्ठ लगायतको योगदान रहेको छ ।




