मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको ‘डार्क कमेडी’ फिल्म ‘जिरो डिग्री’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले बिहीबार फिल्मको पहिलो झलक सार्वजनिक गर्दै यो फिल्म तिहारको अवसरमा प्रदर्शनमा आउने जानकारी दिएको हो । सार्वजनिक फस्टलुक भिडियोले दर्शकमाझ उत्सुकता थपेको छ । भिडियोमा अभिनेता विजय बराललाई ‘पुण्य चौलागाईं’ नामक वडाध्यक्षको भूमिकामा देखाइएको छ, जसले गाउँको एक चलाख र चतुर जनप्रतिनिधिको चरित्र प्रस्तुत गर्छ ।
फस्टलुकमा पृष्ठभूमिबाट सुनिने “जहाँ समस्या त्यहाँ पुन्य चौलागाईं” भन्ने संवाद र “यो गाउँमा बाहेक अरु को नै छ र मेरो आफ्नो” भन्ने डाइलगले उनको प्रभावशाली तर विवादास्पद व्यक्तित्वलाई झल्काउँछ । बाक्लो जुँगा, चस्मा, ढाकाटोपी र सुटमा सजिएका विजय बरालको एक दृश्यमा उनी पैसा लेनदेन गरिरहेको देखिन्छन्, जबकि पृष्ठभूमिमा ‘भ्रष्टाचारलाई रोकौँ !’ लेखिएको बोर्ड देखिनुले फिल्मले राजनीतिक व्यंग्यलाई डार्क कमेडी शैलीमा प्रस्तुत गरेको संकेत गर्छ ।
त्यसैगरी सेतो घोडामा चढेर स्ट्यान्ड फ्यान बोकेर हिँडिरहेको दृश्य र गाउँलेहरूले ठूलो काठको बाकस बोकेर यात्रा गरिरहेको दृश्यले कथालाई थप रहस्यमय बनाएको छ । फिल्मको कथा विकट गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नफर्किन्जेल शवलाई सुरक्षित राख्न ‘डीप फ्रिज’ गाउँमा पुर्याउने क्रममा उत्पन्न हुने घटनामा केन्द्रित रहेको बताइएको छ ।
‘बेहुली फ्रम मेघौली’ पछि सजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशन तथा पटकथा रहेको यस फिल्ममा कास्कीका धिताल, अर्मलाकोट, घार्मी र बगर लगायतका स्थानमा छायांकन गरिएको हो । फिल्ममा प्रकाश घिमिरे, राजन भुसाल, सनिशा भट्टराई, वसुन्धरा भुसाल, रमेश बुढाथोकी, लोकेन्द्र लेखक र सन्जोग रसाइलीलगायत कलाकारहरूको अभिनय रहेको छ ।




