नेपाली फिल्म ‘गौँथली’को टिजर सार्वजनिक गरिएको छ । मुख्य पात्रहरूको भावनात्मक कथा समेटिएको टिजरले फिल्मको कथावस्तुलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ । टिजरमा आमाले छोरीको घर बसाउन गरेको संघर्ष, विवाहपछि छोरीले भोग्नुपरेको पीडा र परिवारभित्रको जटिल सम्बन्धलाई देखाइएको छ । श्रीमान्को असामान्य व्यवहारबाट पीडित बनेकी श्रीमतीको अवस्था र छोरीको सुखद परिवारको सपना देख्ने आमाको भावनालाई टिजरले संवेदनशील रूपमा प्रस्तुत गरेको छ ।
पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्न बाध्य बनेकी युवती, सोझो र इमान्दार ठानेको श्रीमान् नै फरक स्वभावको निस्किएपछि भोग्नुपरेको मानसिक यातना तथा माइती छोडेर नयाँ घर पुगेकी बुहारीले सहनुपरेको व्यवहारले टिजरलाई भावुक बनाएको छ ।
फिल्ममा अरुण क्षेत्री श्रीमान्को भूमिकामा छन् भने सिम्रन खड्का श्रीमतीको भूमिकामा देखिएकी छन् । उनीहरूको पात्रमार्फत वैवाहिक सम्बन्ध, पारिवारिक दबाब र महिलाले भोग्ने संघर्षलाई प्रस्तुत गरिएको छ । डा. कपिल रिजाल को निर्देशनमा बनेको फिल्म आगामी साउन १ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीलगायत कलाकारहरूको अभिनय रहेको छ ।
डा. भोला रिजाल को कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् । निर्माण पक्षका अनुसार ‘गौँथली’ शब्दले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको छ । यसअघि पनि डा. भोला रिजालले दुई दशकअघि यही नाममा फिल्म निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो ‘गीति फिल्म’का रूपमा चिनिन्छ । अहिले सोही नामलाई नयाँ कथासहित निर्देशक कपिल रिजालले पुनः प्रस्तुत गरेका हुन् ।




