यही जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘काजी’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा देशभरका विभिन्न सिनेमा हलहरूले बुधबारदेखि फिल्मको बुकिङ सुरु गरेका हुन् । क्युएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, पोखरा, वीरगञ्ज, इटहरी, दमौली, बिर्तामोड, नारायणघाट, नेपालगञ्ज, बुटवल लगायत काठमाडौंका विभिन्न हलमा फिल्मको टिकट बिक्री खुला गरिएको छ ।
सुरुवाती चरणमै क्युएफएक्सले उपत्यकामा १३ र उपत्यका बाहिर १७ शो गरी देशभर ३० शो उपलब्ध गराएको छ । त्यस्तै, आइएनआई सिनेमाजले सिमरा, नवलपरासी, बुटवल तथा काठमाडौंका लोत्से मल, विश्वज्योति सिनेमाज र एनबी सेन्टरमा गरी १९ शो दिएको छ । वान सिनेमाजले ७ शो र बिग मुभिजले २ शो उपलब्ध गराएका छन् । बुधबारसम्म फिल्मले देशभर झण्डै ६० शो प्राप्त गरिसकेको निर्माण पक्षले जनाएको छ । अन्य हलहरूले समेत क्रमशः शो खुलाउने तयारी गरेका छन् ।
लक्ष्मण रिजाल निर्देशित ‘काजी’ काजी र कजिनीको प्रेमकथामा आधारित फिल्म हो । फिल्ममा विपिन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । उनीहरूसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दीपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरी, बुद्धिसागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा तथा बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारको अभिनय रहेको छ ।
प्रदीप भारद्वाजको कथामा आधारित फिल्म रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । रामप्रसाद रिजाल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता नेहान रिजाल र विकासराज जोशी हुन् भने असिम काफ्ले कार्यकारी निर्माता रहेका छन् । फिल्ममा चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन, सुजिल कर्माचार्यको पार्श्व संगीत तथा विपिन मल्लको सम्पादन रहेको छ । बनिश शाह सुपरभाइजर सम्पादक रहेका छन् ।
‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।




