फिल्म‘रोल नं १’को ट्रेलर सार्वजनिक गरिएको छ । प्रचार–प्रसारमा व्यस्त निर्माण टिमले शुक्रबार फिल्मको ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा विशेषगरी बालमनोविज्ञान, पारिवारिक अपेक्षा र समाजको शैक्षिक सोचलाई केन्द्रमा राखिएको देखिन्छ । बुवाको चाहना अनुसार छोरा पढाइमा अब्बल बनेर गाउँमा इज्जत दिलाओस् भन्ने अपेक्षा र अर्कोतर्फ बालकको आफ्नै रुचि तथा चाहनाबीचको द्वन्द्वलाई ट्रेलरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
गरिबीका कारण विद्यार्थीले छात्रवृत्ति पाउन नसक्ने अवस्था, ‘पहिलो हुनेको मात्रै मूल्य’ भन्ने सामाजिक सोच र त्यसले बालबालिकामा पार्ने मानसिक दबाबलाई पनि चलचित्रले उठान गरेको संकेत ट्रेलरमा देखिन्छ । घोकन्ते शिक्षाले बालबालिकाको मनोविज्ञानमा पार्ने असर र अभिभावकको दबाबका कारण उत्पन्न हुने पारिवारिक तथा सामाजिक द्वन्द्वलाई फिल्मले मिहिन रूपमा चित्रण गरेको निर्माण पक्षले जनाएको छ ।
विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मले वर्तमान शैक्षिक प्रणालीले बालबालिकामा पार्ने प्रभाव र त्यसको दीर्घकालीन असरलाई मुख्य कथावस्तु बनाएको बताइएको छ । जोन योञ्जनको निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी लगायत मुख्य भूमिकामा छन् ।
बाल कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठको अभिनय रहेको छ । महेश दवाडीको लेखन रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको BGM, मदन घिमिरेको सम्पादन तथा अन्य प्राविधिक पक्षहरू समेटिएका छन् ।
निर्माण पक्षका अनुसार ‘रोल नं १’ नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन हुने तयारीमा छ ।




