आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली तथा हिन्दी भाषामा निर्माण गरिएको फिल्म ‘कुम्भ’को प्रचार–प्रसारलाई निर्माण टिमले तीव्र बनाएको छ । यही क्रममा फिल्मका डेब्यु अभिनेता अशोक आर्यन यादव को गृह जिल्ला सप्तरीको राजबिराजमा विशेष प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको छ । सप्तरी कलाकार संघको आयोजनामा सम्पन्न कार्यक्रममा करिब १५० भन्दा बढी कलाकार, सञ्चारकर्मी तथा स्थानीय समर्थकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा फिल्मको टिजर र गीत सार्वजनिक प्रदर्शन गरिएको थियो भने अतिथिहरूलाई पदआसनसहित स्वागत गरिएको थियो । कार्यक्रममा अभिनेता अशोक आर्यन यादवले आफ्नो पहिलो फिल्म ‘कुम्भ’बारे जानकारी दिँदै दर्शक र स्थानीयवासीसँग साथ तथा सहयोगको अपिल गरेका थिए । उनले चलचित्रलाई नेपाली फिल्म क्षेत्रमा नयाँ स्वाद दिने प्रयास गरिएको बताए ।
सप्तरी कलाकार संघका अध्यक्ष करण शर्मा र उपाध्यक्ष कामेश्वर परदेशीले फिल्म सफलताको शुभकामना व्यक्त गर्दै स्थानीय स्तरबाट पनि ‘कुम्भ’लाई व्यापक साथ रहने बताएका थिए । कार्यक्रममा प्रमुख अतिथि धनेश्वर यादवले नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभा र फरक विषयवस्तुको आवश्यकता रहेको उल्लेख गर्दै ‘कुम्भ’ सफल हुने विश्वास व्यक्त गरे । कार्यक्रमलाई सफल बनाउन सरोज आर्यन यादव र तेजनारायण शर्माले विशेष सहयोग गरेका थिए ।
एक्सन–ड्रामामा आधारित फिल्म ‘कुम्भ’मा अशोक आर्यन यादवसँगै सुनिल थापा, सुशील पोखरेल, रोहित रुम्बा, सृष्टि खड्का, अफ्सना थापा तथा दक्षिण भारतीय अभिनेता सुरेन्द्र ठाकुरको अभिनय रहेको छ । फिल्मका लेखक तथा निर्देशक रणधीर श्रेष्ठ हुन् । उनले चलचित्रका गीतका शब्दसमेत लेखेका छन् भने संगीत अनुप तिवारीले दिएका छन् ।
ए रस प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको छायांकन तथा सम्पादन निर्देशक श्रेष्ठ स्वयंले गरेका छन् । फिल्ममा सम्राट बस्नेत र संजय थापाको द्वन्द्व निर्देशन रहेको छ भने निर्माता रणधीर श्रेष्ठ र राजेश साह तथा कार्यकारी निर्माता ईश्वर बल्लभ उप्रेती रहेका छन् ।
एक्सन, रोमान्स र सामाजिक भावनाको मिश्रण बोकेको ‘कुम्भ’ले नयाँ अनुहार र अनुभवी कलाकारको संयोजनमार्फत दर्शकमाझ फरक स्वाद प्रस्तुत गर्ने निर्माण टिमको विश्वास छ ।




