गत वर्ष ‘घर ज्वाइँ’ जस्तो ब्लकबस्टर सिनेमा दिएका निर्देशक अनिल बुढा मगर नयाँ सिनेमा ‘मितज्यू’ लिएर दर्शकमाझ आउँदैछन् । मगर समुदायको संस्कार, संस्कृति र ग्रामीण जीवनलाई पर्दामा जीवन्त ढंगले उतार्न सफल निर्देशक मगरले यसपटक नेपाली समाजमा गहिरोसँग जोडिएको ‘मितेरी’ सम्बन्धलाई सिनेमाको मूल विषय बनाएका छन् ।
जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएसँगै दर्शकमाझ सिनेमाप्रति उत्साह बढेको छ । ट्रेलरले नेपाली गाउँघरमा प्रचलित मित लगाउने संस्कार, त्यसपछि बन्ने सम्बन्ध, जिम्मेवारी, प्रेम र त्यसले निम्त्याउने द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरेको छ । नेपालका विभिन्न समुदायमा प्रचलित मितेरी सम्बन्धलाई सिनेमाको केन्द्रमा राखिएको ‘मितज्यू’मा दुई मितबीचको सम्बन्ध, विश्वास र भावनात्मक उतारचढाव देख्न सकिन्छ ।
एउटी युवतीप्रतिको आकर्षणले दुई मितबीचको सम्बन्धमा आउने दरार र त्यसले निम्त्याउने संघर्षलाई ट्रेलरले संकेत गरेको छ । निर्देशक अनिल बुढा मगरले ग्रामीण परिवेशलाई फेरि पनि आफ्नो कथाको आधार बनाएका छन् । ‘घर ज्वाइँ’मार्फत दर्शकको मन जितेका उनले यसपटक पनि मौलिक नेपाली कथा, संस्कृति र प्रेमलाई सिनेमामा मिसाएका छन् ।
निर्माता जनक घर्ती मगरका अनुसार ‘मितज्यू’ केवल मित्रताको कथा मात्र नभई प्रेम, द्वन्द्व, संस्कार र मनोरञ्जनको सन्तुलित प्रस्तुति हो । उनले दर्शकले सिनेमामा आफ्नै गाउँघर, आफ्नै संस्कार र आफ्नै सम्बन्धको अनुभूति गर्ने विश्वास व्यक्त गरे ।
सिनेमामा दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर मुख्य भूमिकामा छन् । तेरिया मगरले यही सिनेमाबाट अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन् । साथै खड्गबहादुर पुन मगर (खबपु), शिशिर वाङ्देल, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारहरूको पनि अभिनय रहेको छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको सिनेमामा लोकेश बज्राचार्यको सम्पादन र शिशिर बिशंखेको छायांकन रहेको छ । नेपाली गाउँको संस्कार, संस्कृति, रहनसहन र मित्रताको कथालाई सिनेमाले भावनात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने निर्माण टिमको विश्वास छ ।




