आगामी जेठ ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको ३ मिनेट ६ सेकेण्ड लामो ट्रेलरले प्रेम, वैवाहिक सम्बन्ध र पारिवारिक उतारचढावलाई भावनात्मक ढंगले प्रस्तुत गरेको छ । सार्वजनिक ट्रेलरमा अभिनेता विपिन कार्की ‘काजी’ र अभिनेत्री केकी अधिकारी ‘कजिनी’को भूमिकामा देखिएका छन् ।
विवाहपछिको दाम्पत्य जीवन, सम्बन्धमा आउने उतारचढाव र प्रेमको गहिराइलाई ट्रेलरले आकर्षक ढंगले चित्रण गरेको छ । प्रेमिल शैलीमा तयार गरिएको ट्रेलरले दर्शकमाझ सिनेमाप्रति उत्सुकता बढाएको छ । ट्रेलरमा सिनेमाको भव्य मेकिङ, ग्रामीण परिवेश र संवादले विशेष ध्यान खिचेको छ । पारिवारिक कथावस्तुसँगै भावनात्मक पक्षलाई बलियो रूपमा प्रस्तुत गरिएको ट्रेलरले ‘काजी’लाई फरक स्वादको सिनेमाको रूपमा उभ्याएको देखिन्छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको सिनेमामा विपिन कार्की र केकी अधिकारीसँगै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याललगायत कलाकारहरूको अभिनय रहेको छ । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमालाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् ।
प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, श्याम कुँवरको रंग संयोजन, सागर अर्यालको साउण्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । सिनेमाको क्रिएटिभ हेडमा रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशनमा कविराज गहतराज, प्रोडक्सन हेडमा प्रकाश हमाल, सम्पादन सुपरभाइजरमा बनिश शाह तथा सम्पादनमा बिपिन मल्ल रहेका छन् । असिम काफ्ले कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता नेहान रिजाल र विकास राज जोशी हुन् ।
सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्नेछ । यसअघि सार्वजनिक पोस्टर, प्रिभ्यू तथा ‘वारि बर, पारी पीपलु’ बोलको गीतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएपछि ‘काजी’प्रतिको अपेक्षा थप बढेको निर्माण टिमको विश्वास छ ।




