अभिनेता जितु नेपालद्वारा निर्मित नेपाली फिल्म आइ एम जीत बहादुरको पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको शीर्ष गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ ।
बलिउडका थुप्रै चर्चित फिल्ममा स्वर दिइसकेका कैलाश खेरले पहिलो पटक नेपाली फिल्म आइ एम जीत बहादुरका लागि स्वर दिएका हुन् । निर्माण टिमले गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास व्यक्त गरेको छ । गीतमा राज सिंह सिधु र जितु नेपालको शब्द रचना रहेको छ भने संगीत बव एसएनले तयार गरेका हुन् ।
भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको फिल्मले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गर्नेछ । फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने अभिनेत्री वर्षा राउत उनको जोडीका रूपमा देखिएकी छन् । यसअघि सार्वजनिक गरिएको फिल्मको टिजरले युट्युबमा सकारात्मक प्रतिक्रिया पाएको निर्माण पक्षले जनाएको छ ।
फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा तथा बाल कलाकार साहरा शर्मालगायत कलाकारहरूको अभिनय रहेको छ । कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन् ।
भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण पक्षले जनाएको छ । सुभेन्दु घोषकै कथा तथा निर्देशन रहेको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।




