आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘सुख दुःख जिन्दगानी’ सार्वजनिक गरिएको छ । शनिबार निर्माण टिमले प्रचारप्रसारअन्तर्गत गीत रिलिज गरेको हो । गीतमा गायक प्रकाश सपुत र गायिका शान्तिश्री परियारको स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं प्रकाश सपुतले तयार पारेका हुन् भने संगीत संयोजन सुदीप सागरले गरेका छन् ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ । मायालु भावमा प्रस्तुत उनीहरूको जोडी दर्शकमाझ रुचाइएको छ। यो सुहाना र प्रकाशको पहिलो स्क्रिन सेयर हो । लोकलयमा आधारित गीतले ग्रामीण परिवेश, युवा–युवतीबीचको प्रेम र जीवनका उतार–चढावलाई प्रस्तुत गरेको छ। भिडियोमा घाँस–दाउरा, बाख्रा गोठालो लगायतका गाउँघरका दृश्यहरू समेटिएका छन्, जसले गीतलाई अझ जीवन्त बनाएको छ ।
यसअघि फिल्मको टिजर र पहिलो गीत ‘उडी जाउँ भने, म पन्छी होइन’ सार्वजनिक भइसकेको थियो, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। दोस्रो गीतले पनि त्यही अपेक्षा कायम राख्ने निर्माण टिमको विश्वास छ । ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् भने फिल्मको निर्देशन लक्ष्मण सुनारले गरेका छन् ।
गुरुप्रसाद मैनालीको चर्चित कृति ‘परालको आगो’बाट प्रेरित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँलगायतको अभिनय रहेको छ । हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुशील पोखरेल हुन् भने सुलभी पोखरेल र सत्यम पोखरेल सह–निर्माता रहेका छन् । फिल्मको पटकथा तथा संवाद सुशील देवकोटाले लेखेका हुन् ।
संकल्प भुजेलको छायांकन, रामजी लामिछाने र मिलन श्रेष्ठको सम्पादन तथा कनाल कँवरको रंग संयोजन रहेको फिल्ममा किरण तुलाधरको पाश्र्व संगीत छ । संगीत शान्ति ठटाल, सत्य–स्वरूप आचार्य र प्रकाश सपुतले दिएका छन् भने गीतका शब्द मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपुतले लेखेका छन् । फिल्ममा कला निर्देशन प्रतिक चौधरी, मुख्य सहायक निर्देशन करणबहादुर साउद, भिएफएक्स समिर मिया र सत्यम राना तथा मिक्सिङ मुकेश शाहले गरेका छन् । टिजर तथा ट्रेलर सम्पादन साहिल खानले गरेका हुन् ।
फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ । उल्लेखनीय छ, गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहमा समावेश ‘परालको आगो’ कथामा यसअघि पनि निर्देशक प्रताप सुब्बाले करिब ४५ वर्षअघि फिल्म निर्माण गरेका थिए ।




