फिल्म ‘किन लाग्छ माया’ को पहिलो गीत ‘धौले संसार’ सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गरेपछि निर्माणपक्षले अब फिल्मको गीत रिलिज गर्दै प्रचारलाई तीव्र बनाएको हो । कुबेर तामाङको निर्देशनमा तयार भएको यो फिल्म सन् २०२६ मा प्रदर्शनमा आउने तयारीमा छ । सार्वजनिक गरिएको ‘धौले संसार’ बोलको गीतलाई लोक शैली मा तयार गरिएको छ, जसले नेपाली माटोको स्वाद बोकेको देखिन्छ ।
गीतमा पुष्कर सुनुवार, शान्तीश्री परियार र गोपाल ढकाल ‘छन्दे’ को स्वर रहेको छ । डा. अशाबहादुर तामाङ को शब्द र पुष्कर सुनुवार कै संगीत रहेको गीतको अडियो पक्ष सुमधुर बनेको छ । गीतको भिडियोमा रामजी लामिछाने को कोरियोग्राफी रहेको छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ । सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सञ्जित भण्डारी, जाहान्वी बस्नेत, ऋचा थापा, मिस पबी र हिउँवाला गौतम सँगै नव–नायक स्याडो रियल, उत्तम केसी र सेजल सुवेदी को ऊर्जावान नृत्य देख्न सकिन्छ ।
कलाकारहरूको छमछमी र कोरियोग्राफीले गीतलाई दर्शक–मैत्री बनाएको छ । फिल्ममा राजेन्द्र खड्गी, रवि डंगोल, गोपाल ढकाल, सम्रान्त थापा, बेग पहारी, निरोज खुलाल, रामकाजी घिमिरे, सुभाष गजुरेल, रविन्द्र खड्का, सुनिल कटुवाल, विनोद ढकाल, अनु खत्री, सविन बास्तोला, गीता अधिकारी लगायत कलाकारहरूको अभिनय रहेको छ।
सञ्जित भण्डारी र मोनु खड्का को लगानीमा तयार भएको फिल्मलाई आरआर फिल्म्स ले वितरण गर्नेछ । फिल्ममा राजेन्द्र खड्गी को एक्सन निर्देशन, रामशरण उप्रेती र रामकुमार केसी को छायांकन, बनिष शाह र नविन चौधरी को सम्पादन रहेको छ । रामकाजी घिमिरे को पटकथा तथा संवाद रहेको फिल्ममा स्याडो रियल को कथा र शब्द समावेश छन् । दाजुभाइको सम्बन्ध र भावनात्मक कथामा आधारित यो फिल्मले दर्शकको मन जित्नेमा निर्माणपक्ष आशावादी देखिएको छ ।




