फिल्म ‘गोबर गणेश’ को ट्रेलर युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको छ । शुक्रबार सार्वजनिक भएको ट्रेलरले आमा र छोराको भावनात्मक सम्बन्ध र छोराले सहरमा गरेको संघर्षलाई प्रभावकारी ढंगले समेटेको छ । ट्रेलर रिलिज भएयता २१ लाखभन्दा बढी पटक हेरिएको छ भने ६५ हजारभन्दा बढी लाइक र १२ सयभन्दा बढी कमेन्ट प्राप्त भएका छन् । कमेन्टहरूमा दर्शकले कथाको प्रस्तुति र कमेडीको फ्लेबर मन पराएको बताएका छन्, र फिल्मको रिलिजको लागि उत्सुकता व्यक्त गरेका छन् ।
निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले भने, “दर्शकले दिनुभएको मायाले हामीलाई थप उत्साहित बनाएको छ । फिल्म पनि यसैगरी मन पराइदिनुहुन्छ भन्ने हाम्रो विश्वास छ । आम नेपालीको कथा उठान गरेकाले फिल्मसँग धेरैले आफूलाई जोड्न सक्नेछन् ।”
फिल्म माघ १ गते प्रदर्शनमा आउँदैछ । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा बल्छी श्रेष्ठ, वर्षा सिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछाने लगायतका कलाकारहरू छन् ।
सिनेमाटोग्राफी शिवराम श्रेष्ठको रहेको छ भने सम्पादन विपिन मल्लले गरेका छन् । बीजीएम योगेश काजी शाहको, चिफ एडिटिङ तारानाथ न्यौपानेले गरेका छन्, र प्रोडक्सन शंकर पाण्डेको रहेको छ । डिजिटल पार्टनर ओएसआर डिजिटल र नेपालमा वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।




