नेपाली फिल्म तथा कन्टेन्ट क्षेत्रमा रोचक प्रयोग गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ । पाँच भागमा निर्माण गरिएको यो सिरिज बिटी कान्छा युट्युब च्यानल मार्फत हेर्न सकिन्छ, जहाँ प्रत्येक भाग करिब २५ मिनेट लामो छ । सिरिजको प्रत्येक भागमा नेपाली फिल्म क्षेत्रका स्थापित कलाकारलाई अतिथि कलाकारको रूपमा प्रस्तुत गरिएको छ ।
विभिन्न भागमा निर्देशक निश्चल बस्नेत, अभिनेता आयुष्मान डीएस जोशी, अभिनेत्री आना शर्मा, गौमाया गुरुङ लगायतका कलाकार देखिएका छन् । युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट प्रस्तुत गर्ने उद्देश्यले सिरिज निर्माण गरिएको निर्देशक विश्वास तिम्सिनाले बताए । उनका अनुसार ‘हरामी’ घरेलु दर्शकमा सीमित नभई युवा पुस्ताको जीवनशैली, सोच र सम्बन्धलाई केन्द्रमा राख्छ । निर्देशक तिम्सिनाले भने, “प्रत्येक भागमा स्थापित कलाकारलाई समेटेर दर्शकलाई नयाँ सरप्राइज दिने प्रयास गरेका छौँ । विश्वभर वेब सिरिज लोकप्रिय भइरहेका बेला नेपालमा पनि नयाँ प्रयोग गरेका हौँ ।”
सिरिजको कथा एउटै फ्ल्याटमा बस्ने तीन जना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका विभिन्न आयामहरू प्रस्तुत गरिएका छन् । प्रत्येक भागमा फरक विषयवस्तुलाई उठान गर्ने प्रयास गरिएको छ। निर्माणको प्रेरणाबारे उनले खुलासा गरे,
“सिरिजको आधार फ्ल्याटमा बस्ने पात्र निकुन श्रेष्ठको जीवनबाट आएको हो । कालिम्पोङबाट नेपाल आउँदा निकुनको घरमा बस्दा उनका बुबाआमा अमेरिका हुनुका कारण उनी एक्लै बस्दै साथीहरूसँग स्वतन्त्र जीवन बिताइरहेका थिए । ‘हरि’ र ‘मिलन’ पात्रमा भने मेरा भारतका साथीहरूको जीवन झल्किन्छ ।”
मन प्रोडक्सनसँग आबद्ध निकुन श्रेष्ठ सिरिजका कार्यकारी निर्माता पनि हुन् । यसमा सफल केसी निर्माता र प्रतीक गुरुङ क्रिएटिभ प्रोड्युसर छन् । यी दुवै फिल्म ‘हरि’ का लेखक तथा निर्देशक हुन् । सिरिजका नियमित कलाकारमा निकुन श्रेष्ठ, ऋषिकेश बस्याल, शशांक बोहरा र रक्षा थापा रहेका छन् ।




