आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ को भिडियो सार्वजनिक गरिएको छ । निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो ओएसएआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली नृत्य गर्दै देखिन्छन् । लोकलयमा आधारित गीतमा प्रेमकथा बुनिएको छ भने दुवै कलाकारको केमेस्ट्री दर्शनीय देखिएको छ ।
निर्देशक विजय केरुङ ले कथाअनुसारकै गीत चयन गरिएको बताउँदै दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार गाउँघरको टिपिकल शब्द र भावनालाई गीतमा समेटिएको छ । गीतमा एसडी योगी र रेश्मा पुन को स्वर रहेको छ। संगीत एसडी योगी, शब्द मौसम अर्याल ले लेखेका हुन् । भिडियोको कोरियोग्राफी रामजी लामिछाने ले गरेका छन् भने छायांकन शिव ढकाल को रहेको छ ।
दिब्यासी फिल्म्स को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’ मा सुशील श्रेष्ठ, अञ्जना बराईली सँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचे को मुख्य भूमिका रहेको छ । एक्सन–सस्पेन्स विधा मा बनेको यस फिल्मको कथा तथा निर्माण दीपक सिवाकोटी को हो भने पटकथा तथा संवाद शिवम् अधिकारी ले लेखेका छन् । सम्पादन बन्दे प्रसाद, संगीत एसडी योगी र द्वन्द्व निर्देशन श्री श्रेष्ठ को रहेको छ ।
फिल्म ‘परिवर्तन’ को वितरण आर आर फिल्म्स ले गर्नेछ ।




