चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को भावुक गीत ‘सृष्टिकै पहिलो नाम’ सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत गीत रिलिज गरिएको हो । गीतको भिडियोमा विपना थापा, पल शाह, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल, गजित बिष्ट लगायत कलाकारहरूलाई देख्न सकिन्छ । भिडियोमा परदेशिएको छोराको पीडा र आमाको निःस्वार्थ मायालाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ ।
यस भावुक गीतमा बाबुल गिरीको शब्द र सङ्गीत रहेको छ भने रबी ओडको स्वरले गीतलाई अझ सशक्त बनाएको छ। गीतको भावअनुसार नै भिडियो निर्माण गरिएको देखिन्छ, जहाँ सन्तानप्रतिको माया, ममता र स्नेहको कथा स्पष्ट रूपमा झल्किन्छ । गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक चन्द्र पन्तले यो फिल्म आफ्नो ‘ड्रिम प्रोजेक्ट’ भएको बताए ।
उनले भने, “यो मेरो ड्रिम प्रोजेक्ट हो, जसलाई हामीले धेरै सफलताका साथ तयार गरेका छौँ । ‘आ बाट आमा’ भन्ने टाइटल र यस गीतलाई लिएर मैले सुटिङ सुरु गर्नु अगावैदेखि नै सपना देखेको थिएँ । आज त्यो सपना पूरा भएको छ । आशा गर्छु, यो गीत सबै दर्शकले मन पराइदिनु हुनेछ ।” निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ ।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डिओपी नवराज उप्रेती हुन् । फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ। गीतहरूको कोरियोग्राफी गम्भीर बिष्ट र दिलीप ओखेडाले गरेका छन् । अभिमन्यू निरवीद्वारा लेखिएको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन् । फिल्मको छायाङ्कन नवराज उप्रेतीले गरेका हुन् । ट्रेलर र टिजरको सम्पादन साहिल खानले गरेका छन् ।
यसअघि सार्वजनिक टिजर र पोस्टरले नै दर्शकमाझ फिल्मप्रति चासो बढाइसकेको छ । नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले लिएको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ । फिल्म आगामी माघ १६ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।




