नेपाली फिल्म ‘परान’ मा समावेश पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच यो गीत सार्वजनिक गरिएको हो । दसैंको अवसर पारेर सार्वजनिक गरिएको यो गीत विवाहको परिवेशमा आधारित रमाइलो नृत्यप्रधान गीत हो । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, नीर शाह, केकी अधिकारी, पूजा चन्द, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराईली लगायत फिल्मका प्रमुख कलाकारहरू देखिएका छन् ।
गीतमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बी.कले स्वर दिएका छन् । गीतका शब्द दीपकप्रसाद आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलले गरेका छन् । भिडियोको कोरियोग्राफी सुनिल क्षेत्रीले गरेका हुन् । निर्देशक दीपकप्रसाद आचार्यद्वारा निर्देशित फिल्म ‘परान’ आगामी कात्तिक १४ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। ‘सासले होइन, साथले चल्ने’ भन्ने ट्यागलाइनसहितको फिल्मले पारिवारिक कथालाई मुख्य विषय बनाएको छ ।
फिल्म बाइस्कोप सिनेमा प्रालिले निर्माण गरेको हो, जुन गोल्छा समूह र प्रिज्मा समूहको सहकार्यमा स्थापना भएको कम्पनी हो । निर्माता रञ्जित आचार्य र शेखर गोल्छाको संयुक्त निर्माणमा बनेको यो बाइस्कोप सिनेमाको पहिलो प्रोजेक्ट हो । फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका छन् ।
फिल्मको छायांकन शिवराम श्रेष्ठले गरेका हुन् भने सम्पादन मित्र डी. गुरूङले गरिरहेका छन् । गीतले दर्शकलाई नचाउने खालको उत्साह दिइसकेको छ भने फिल्मप्रतिको उत्सुकता थप बढेको देखिन्छ ।




