विश्व चर्चित ‘मिस युनिभर्सको नेपाल फ्रेन्चाइज’ अन्तर्गत आयोजना गरिएको मिस युनिभर्स नेपाल २०२५ को उपाधि सान्या अधिकारीले जितेकी छन् । बुधबार साँझ ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्रान्ड फिनालेमा सान्याले विजेता बनेकी हुन् । फिनालेमा १४ जना सुन्दरीहरूले प्रतिस्पर्धा गरेकी थिइन् । सान्यासँगै आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा ढुंगाना द्वितीय उपविजेता, एलिना यारी तृतीय उपविजेता र ज्योती थापा चौथो उपविजेता घोषित भए ।
विजेता सान्याले २ लाख रुपैयाँ नगदसहित हजारौं मूल्यका उपहारहरू प्राप्त गरिन् । उनले आगामी २१ नोभेम्बर २०२५ मा थाइल्याण्डको बैंककमा हुने ७४ औं मिस युनिभर्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछिन् । विजेता सान्याले मिडियासँगको कुराकानीमा नेपालमा पछिल्लो समय जेनजेड (Gen Z) को प्रदर्शनका कारण पर्यटन क्षेत्रमा परेको असरको विषयमा बोलेकी छिन् ।
उनले विदेशी पर्यटकलाई नेपाल शान्त र सुरक्षित स्थान भएको सन्देश दिने बताइन् । साथै, मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै पर्यटन क्षेत्रसहित अन्य विविध पक्षहरूको प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रिय निर्देशक संगीता पुरीले विजेताहरूलाई बधाई दिँदै आगामी दिनमा उनीहरू राष्ट्रको नाम उज्वल बनाउने विश्वास व्यक्त गरिन् । ग्लोबल ग्ल्यामर भेन्चरले केही वर्षयता नेपालमा मिस युनिभर्स प्रतियोगिता आयोजना गर्दै आएको छ ।




