मोहित सुरी निर्देशित नयाँ फिल्म ‘सैयारा’ ले बक्स अफिसमा सबैको अनुमानलाई गलत सावित गर्दै अपत्यारिलो सफलता हासिल गरेको छ । नवोदित अभिनेता अहान पाण्डे र अभिनेत्री अनीत पड्डा अभिनीत यो फिल्मले पहिलो सातामै भारतीय बक्स अफिसबाट १५५ करोड रुपैयाँको कमाइ गर्दै सबैलाई चकित बनाएको छ ।
यशराज फिल्म्सको ब्यानरमा बनेको यो म्युजिकल–रोमान्टिक ड्रामा फिल्मले भारत मात्र नभई नेपाल र विश्वभरबाट समेत उल्लेखनीय कमाइ गरिरहेको छ। हलमा निरन्तर हाउसफूल देखिएको ‘सैयारा’को सफलताका कारण यसको ओटीटी (नेटफ्लिक्स) रिलिज मितिलाई केही समयका लागि पछाडि सारिएको छ । सामान्यतः हलमा प्रदर्शन भएको भारतीय फिल्महरू आठ हप्ताभित्र ओटीटीमा आउने चलन भए पनि ‘सैयारा’को व्यापारलाई हेर्दै निर्माताले कम्तीमा ९० दिनको ‘विन्डो’ कुर्ने निर्णय लिएका छन् ।
यसको अर्थ फिल्म अब तिहार (दीपावली) आसपास मात्र नेटफ्लिक्समा आउने सम्भावना बढेको छ । फिल्मप्रति बढ्दो दर्शक मागका कारण सुरुमा ८०० पर्दामा रिलिज गरिएको फिल्म हाल २००० भन्दा बढी पर्दामा स्क्रिनिङ भइरहेको छ ।
हलहरूमा शो संख्या समेत वृद्धि भइरहेका छन्, जसले गर्दा फिल्मको कुल कमाइ अझ उचाइमा पुग्ने अनुमान गरिएको छ । उल्लेखनीय कुरा के छ भने, ‘सैयारा’ले हालै रिलिजमा आएका ‘सिकन्दर’ र ‘हाउसफुल ५’ जस्ता बहुप्रतिक्षित ठूला बजेटका फिल्महरूभन्दा पनि उत्कृष्ट व्यापार गरेको छ ।




