बलिउडको बहुप्रतीक्षित एक्सन थ्रिलर फिल्म ‘वार २’को ट्रेलर सार्वजनिक गरिएको छ । यशराज फिल्म्सको ‘स्पाइ युनिभर्स’ अन्तर्गत निर्माण गरिएको यस फिल्ममा ऋतिक रोशन, दक्षिण भारतीय सुपरस्टार जुनियर एनटीआर र अभिनेत्री कियारा आडवाणी मुख्य भूमिकामा छन् ।
फिल्मलाई ‘वेक अप सिड’ र ‘ब्रह्मास्त्र’ जस्ता फिल्ममार्फत चर्चा कमाएका निर्देशक अयान मुखर्जीले निर्देशन गरेका हुन् । यही सिनेमाबाट जुनियर एनटीआरले बलिउड डेब्यु गरेका छन्, जसले ट्रेलरमै आफ्नो प्रभावशाली उपस्थिति जनाएका छन् । सन् २०१९ मा रिलिज भएको ‘वार’को सिक्वेलका रूपमा निर्माण गरिएको ‘वार २’मा यसपटक टाइगर श्रफको स्थानमा एनटीआर देखिएका छन् । ट्रेलरमा उच्चस्तरीय एक्सन, गम्भीर संवाद र रहस्यमयी कथाले दर्शकलाई सुरुबाटै तान्ने प्रयास गरिएको छ ।
ऋतिक रोशनको चर्चित पात्र ‘कबीर’ अझ घातक र परिपक्व रूपमा प्रस्तुत भएको छ भने एनटीआरको पात्र ‘काली’ एक रहस्यमयी, तर शक्तिशाली विरोधीको रूपमा उभिएको छ । कियारा आडवाणीको ग्ल्यामरस उपस्थितिसँगै उनको संवेदनात्मक अभिनयले कथा सम्हाल्ने प्रयास देखिन्छ ।
ट्रेलरमा हवाई हमला, क्यासिनो भिडन्त, कार चेज र हेलिकप्टरबाट गरिएका आक्रमणहरू दृश्यात्मक रूपमा प्रभावशाली देखिन्छन् । विश्वस्तरीय भिएफएक्स, साहसिक स्टन्ट र ब्याकग्राउण्ड म्युजिकले ट्रेलरलाई थप रोमाञ्चक बनाएको छ । भारतको सुरक्षा प्रणालीभित्र घुसेका गद्दारहरूविरुद्ध चलाइएको गोप्य अपरेशनलाई मूल कथावस्तु बनाइएको यस सिनेमाले यथार्थवादी एक्सन र राजनीतिक षड्यन्त्रको समिश्रण दर्शाउने संकेत दिएको छ ।
अदित्य चोपडाको निर्माण तथा अयान मुखर्जीको निर्देशनमा बनेको ‘वार २’ आगामी अगष्ट १४ तारिखबाट विश्वव्यापी रूपमा प्रदर्शनमा आउँदैछ ।




