फिल्म‘चमेलीको पोई’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले रामनवमीको अवसर पारेर चैत १३ गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । बुधवार नारायणथानमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको तीन डिजाईनका पोस्टर सार्वजनिक गरेको हो । तीन मध्ये एकमा अभिनेत्री सुरक्षा पन्तले अभिनेता मुकुन भुसालको खुट्टा तान्दै गरेकी छन् । अर्को एक पोस्टरमा सुरक्षाले बन्दुक भिरेकी छन् भने मुकुनले एक हातमा ठेकी र अर्को हातमा गुलावको फूल लिएका छन् । अर्को एक पोस्टरमा भने फिल्मका सबै जसो कलाकार अटाएका छन् । सोही पोस्टरमा मुकुनले सुरक्षाको गोडा मिच्दै गरेको देखिन्छ ।
पोस्टरहरुले फिल्म कमेडी र सस्पेन्सले भरिएको लाग्दछ । एभरेष्ट सूर्य बोहराकाे निर्देशनमा बनेकाे फिल्ममा मुकुन, सुरक्षाका साथमा नारायण त्रिपाठी, विल्सन विक्रम राई, रविन्द्र झा, प्रेम देव गिरी, राम नारायण उपाध्याय, गणेश गौतम, अंसु महर्जन, बबिन राई, खड्ग बहादुर पुन, उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, मिना आरएल शाही, रितु मल्ल ठकुरी लगाएतले अभिनय गरेका छन् । फिल्मकाे पटकथा र संवाद शिवम् अधिकारीले लेखेका हुन् ।
धन लक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्ममा सुनिता सापकोटा र राम नारायण उपाध्यायले लगानी गरेका छन् । उदय विक्रम राणा र रितु मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर धनकुमारी श्रेष्ठ बोहरा रहेका छन् । फिल्मको सह-निर्मातामा यम ओली, सुदिप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदिपकुमार सापकोटा छन् । शेर बहादुर तामाङले छायांकन गरेको फिल्ममा बन्दे साह र सुजन वडालको सम्पादन, राजनराज सिवाकोटीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ । फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ ।




