आयंका फिल्म्सको प्रस्तुतिमा निर्माण भएको नेपाली फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत ‘मास्टर्नी’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । सार्वजनिक भएको २४ घण्टाभित्रै गीतले अडियो र भिडियो दुवै विधामा युट्युब ट्रेन्डिङको नम्बर–१ स्थान कब्जा गर्न सफल भएको हो । दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको गीतलाई सार्वजनिक भएको छोटो समयमै ६ लाखभन्दा बढी पटक हेरिएको छ ।
युट्युबसँगै रिल्स र टिकटकमा पनि गीत व्यापक रूपमा भाइरल भइरहेको छ। गीतमा गायिका वविना किराँतीले दुर्गेशलाई स्वरमा साथ दिएकी छन् । प्रदीप लामाको कोरियोग्राफी रहेको गीतको भिडियोमा प्रियंका कार्की, आर्यन सिग्देल, दुर्गेश थापा र आयुष्मान जोशीको आकर्षक प्रस्तुति रहेको छ । गीतको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन् ।
आगामी भदौ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘मास्टर्नी’ लाई प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीले संयुक्त रूपमा निर्माण गरेका हुन् । सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्मको कथा प्रियंका कार्कीको रहेको छ भने पटकथा शान बस्नेतले लेखेका हुन् । संवाद लेखनमा प्रियंका कार्की र शान बस्नेतले संयुक्त रूपमा काम गरेका छन् ।
फिल्ममा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, विशाल पहारी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का, दिनेश काफ्ले लगायत कलाकारहरूको अभिनय रहेको छ ।




