उडान स्टुडियोको प्रस्तुतिमा निर्माण हुन लागेको नेपाली फिल्म ‘आशा’ को छायांकन सुरु भएको छ । एक महिनाको छायांकन तालिकासहित फ्लोरमा गएको फिल्मको पहिलो दिनको छायांकन काठमाडौं उपत्यकामा गरिएको निर्माण पक्षले जनाएको छ । निर्मात्री शर्मिला थापाका अनुसार केही दिन काठमाडौं उपत्यकामा छायांकन गरेपछि फिल्मको बाँकी दृश्य नमोबुद्ध र धुलिखेल आसपासका विभिन्न स्थानमा खिचिनेछ ।
उनले भनिन्, “हामी योजना अनुसार नै छायांकनमा निस्किएका छौँ । साउन महिनाभित्रै फिल्मको सम्पूर्ण छायांकन सक्ने तयारी गरेका छौँ । नेपालीपन बोकेको कथालाई प्राविधिक रूपमा उत्कृष्ट बनाएर दर्शकमाझ प्रस्तुत गर्ने हाम्रो लक्ष्य हो ।” छायांकनको पहिलो दिन अभिनेता शुशांक मैनालीसँगै बालकलाकार चिराग श्रेष्ठ र काश्वी भण्डारीले क्यामेरा फेस गरेका थिए ।

फिल्ममा शुशांक मैनालीका साथै महेश त्रिपाठी, अन्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह र कविता रेग्मीको अभिनय रहनेछ । राजीव गुरुङको निर्देशनमा बन्न लागेको फिल्मको कथा पनि उनकै हो । निर्देशक गुरुङले फिल्मले मनोरञ्जनसँगै दर्शकलाई सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे ।
उनले भने, “यो कथालाई पर्दामार्फत दर्शक हुँदै परिवारसम्म पुर्याउनुपर्छ भन्ने उद्देश्यले फिल्म बनाउँदैछौँ। मन छुने पारिवारिक कथामा आधारित फिल्म तयार हुँदैछ ।” फिल्ममा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा आबद्ध छन् । सुदाम सिके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक, नरेन्द्र मैनाली छायाकार, युग भुसाल र समीर खरेल संगीतकार, किशोर आचार्य साउन्ड डिजाइनर तथा लोकेश बज्राचार्य सम्पादक रहेका छन् ।
यस्तै, सोनाली शिल्पकार मेकअप तथा हेयर, शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन म्यानेजर, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) वितरकका रूपमा आबद्ध छन् । पारिवारिक कथावस्तुमा आधारित फिल्म ‘आशा’ आगामी माघ १ गते (माघे सङ्क्रान्ति) को अवसर पारेर देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।




