वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म ‘म मदनकृष्ण’ को डिजिटल प्रदर्शन अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ । भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने तयारीमा रहेको फिल्मको डिजिटल अधिकार नेपालको प्रतिष्ठित डिजिटल कम्पनी ओएसआर डिजिटलले मोटो रकममा खरिद गरेको निर्माण टिमले जनाएको छ । निर्देशक मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो फिल्मको निर्माण घोषणा असारको पहिलो सातामा गरिएको थियो ।
७६ वर्षीय वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवन, संघर्ष र योगदानलाई समेट्ने फिल्मप्रति सुरुदेखि नै दर्शकको चासो बढिरहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठको बाल्यकाल, सरकारी सेवाको अनुभव, हरिवंश आचार्यसँगको सहकार्य, अन्तरजातीय विवाह तथा व्यक्तिगत जीवनका सुख–दुःख र संघर्षलाई समेटिने निर्माण पक्षले जनाएको छ ।
निर्देशक मिलन चाम्सले डिजिटल अधिकारबारे जानकारी दिँदै भने, “ध्रुव सत्य कुरा के हो भने, ओएसआरले अहिलेसम्मकै महँगो मूल्यमा हाम्रो फिल्मको डिजिटल राइट खरिद गरेको छ। यो मदनकृष्ण दाइप्रतिको सम्मान र उहाँको ब्रान्ड भ्यालुको परिणाम हो ।” नेपाली फिल्म इतिहासमा कुनै चर्चित अभिनेताको जीवनमा आधारित बायोपिक निर्माण हुन लागेको यो पहिलो अवसर मानिएको छ ।
यसअघि गायक भक्तराज आचार्यको जीवनमा आधारित ‘आचार्य’ निर्माण भएको थियो भने अन्य विभिन्न क्षेत्रका व्यक्तित्वमाथि पनि बायोपिक बनेका थिए । तर, रंगमञ्च र नेपाली फिल्मका हस्ती मदनकृष्ण श्रेष्ठको जीवनमाथि फिल्म बन्नुलाई नेपाली फिल्म उद्योगको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठको भूमिकामा अभिनेता महेश त्रिपाठी देखिनेछन् भने अभिनेत्री केकी अधिकारीले मदनकृष्णकी श्रीमती यशोदाको भूमिका निर्वाह गर्नेछिन् ।
मदनकृष्ण श्रेष्ठसँग दशकौँदेखि सहकार्य गर्दै आएका हरिवंश आचार्यको भूमिकामा कसले अभिनय गर्ने भन्ने विषयलाई भने निर्माण पक्षले हाल गोप्य राखेको छ । फिल्ममा राजाराम पौडेल, किरण केसी, रुषा न्यौपाने, यमन श्रेष्ठ र देशभक्त खनालको पनि अभिनय रहनेछ । भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मका निर्माता राजकुमार श्रेष्ठ हुन् ।
कथा तथा पटकथा यम थापाले लेखेका हुन् भने पदम बहादुर श्रेष्ठ (बाबु श्रेष्ठ) डीओपी, मिलन श्रेष्ठ सम्पादक, अलिश कार्की पाश्र्व संगीतकार तथा भरत कँडेल साउन्ड डिजाइनरका रूपमा आबद्ध छन् । भदौ दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्म ‘म मदनकृष्ण’ लाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्नेछन् ।




