ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा अत्याधुनिक प्रविधिसहित आठवटा स्क्रिनमा साउन १ गतेदेखि पुनः सञ्चालनमा आएको छ । २०५२ सालमा स्थापना भएको गुण सिनेमा करिब २७ वर्ष सफल सञ्चालनपछि नयाँ भवन निर्माणका लागि २०७९ सालमा बन्द भएको थियो। नयाँ संरचना र सुविधासहित शुक्रबारदेखि पुनः दर्शकमाझ फर्किएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा गुण सिनेमा प्रालिका अध्यक्ष राजेन्द्र (दिजेन्द्र) शाक्यले नयाँ भवन निर्माणका कारण केही समय दर्शकलाई असुविधा भएको उल्लेख गर्दै अब पहिलाभन्दा थप एक स्क्रिनसहित उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।
“नयाँ भवन निर्माणका लागि हल बन्द गर्नुपर्दा धेरै दर्शकले सिनेमा हेर्न असुविधा भोग्नुपरेको थियो। अब हामी पहिलाभन्दा थप एक हलसहित फर्किएका छौं । दर्शकले आफ्नो रुचिअनुसारका फिल्म सहज रूपमा हेर्न सक्नुहुनेछ,” उनले भने । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सको व्यवस्थापनमा सञ्चालन हुने गुण सिनेमामा ४१ देखि २६० सिट क्षमतासम्मका हल रहेका छन् । अध्यक्ष शाक्यका अनुसार यहाँ जीडीसी सर्भर, पुल्ज तथा जेबीएल स्पिकर, डीटीएस–एक्स, एआईबी–३००० इमर्सिभ साउन्ड सिस्टम, बेल्जियममा निर्मित बार्को टुके लेजर प्रोजेक्टर र गालालाइट सिल्भर स्क्रिन जडान गरिएको छ ।

दर्शकको सुविधाका लागि प्रत्येक हलमा प्रिमियम सोफा सिट, पूर्ण एयर–कन्डिसन सुविधा, आरामदायी तथा आकर्षक लबी निर्माण गरिएको छ। साथै, हिमालयन जाभा कफीसहित विभिन्न परिकार र स्न्याक्सको व्यवस्था पनि गरिएको छ । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली फिल्म उद्योगको विकास र दर्शकको रुचि विस्तारमा गुण सिनेमाले पुर्याएको योगदानको प्रशंसा गर्दै अत्याधुनिक सुविधा सम्पन्न आठ स्क्रिन सञ्चालनमा आउनु नेपाली फिल्म उद्योगका लागि सकारात्मक उपलब्धि भएको बताए ।

नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले गुण सिनेमाको नयाँ स्वरूपले नेपाली फिल्मको बजार विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । क्यूएफएक्सका प्रमुख नकिम उद्दिनले दरबार सिनेम्याक्सपछि गुण सिनेमासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउँदै गुण सिनेमा सधैं गुणस्तरीय सेवा दिने संस्थाका रूपमा परिचित रहेको उल्लेख गरे । यसअघि एकै छानामुनि सातवटा स्क्रिन सञ्चालन गर्दै आएको गुण सिनेमा काठमाडौं उपत्यकाका साथै काभ्रे, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका दर्शकमाझ पनि लोकप्रिय थियो। नेपाली फिल्मले उल्लेख्य व्यापार गर्ने प्रमुख केन्द्रका रूपमा स्थापित गुण सिनेमा पुनः सञ्चालनमा आएसँगै त्यो गौरव फर्किने अपेक्षा निर्माता छविराज ओझाले व्यक्त गरे ।
२०७९ वैशाखदेखि दरबारमार्गमा दरबार सिनेम्याक्स सञ्चालन गरिरहेको गुण सिनेमा प्रालिले ग्वार्कोस्थित नयाँ मल्टिप्लेक्समा शुक्रबारदेखि नेपाली फिल्म ‘गौँथली’, हिन्दी ‘धमाल ४’ र अंग्रेजी ‘द ओडिसी’ प्रदर्शन सुरु गरेको छ ।




