सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित नेपाली फिल्म ‘गौँथली’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । देशभरका हलमा २०० भन्दा बढी शोसहित प्रदर्शनमा आएको फिल्मले प्रिमियर प्रदर्शनबाट उत्कृष्ट प्रतिक्रिया पाएपछि निर्माण टिम उत्साहित देखिएको छ । प्रिमियरमा फिल्म हेर्ने दर्शक तथा चलचित्रकर्मीले कथा, कलाकारको अभिनय र प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । त्यसपछि निर्माण पक्षले आम दर्शकबाट पनि यस्तै सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेको छ ।
निर्देशक कपिल रिजालले भने, “हाम्रो फिल्म आजदेखि प्रदर्शनमा आएको छ । प्रिमियरमा जस्तै आम दर्शकले पनि हलमा मन पराउनुहुनेछ भन्ने हाम्रो विश्वास छ ।” निर्माण पक्षका अनुसार केही हलमा बिहीबारदेखि नै अग्रिम बुकिङ उत्साहजनक देखिएको थियो। केही शोमा उच्च अकुपेन्सी देखिएकाले फिल्मले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
फिल्ममा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् । कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’ भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको हो ।
फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् । इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह–निर्माताका रूपमा आबद्ध छन् । डा. भोला रिजालको कथामा आधारित फिल्मको पटकथा तथा संवाद निर्देशक कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा हरि हुमागाईंको छायांकन, मिलन श्रेष्ठको सम्पादन तथा गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन रहेको छ ।




