प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष उमेश श्रेष्ठले सोमबारदेखि औपचारिक रूपमा कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्नुअघि उहाँले काउन्सिल सदस्यहरूको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो । पदबहालीपछि अध्यक्ष श्रेष्ठले कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालको तीव्र विकाससँगै सञ्चार क्षेत्रको स्वरूप परिवर्तन भइरहेकाले प्रेस काउन्सिलको भूमिका पनि समयअनुकूल रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले प्रेस स्वतन्त्रताको संरक्षण काउन्सिलको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि दबाब वा प्रभावबाट मुक्त भई निष्पक्ष रूपमा पत्रकारिता क्षेत्र र सरकारबीच समन्वयकारी भूमिकामा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । काउन्सिलका कर्मचारीहरूको पेशागत समस्या र संस्थागत सुधारलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठलाई काउन्सिल सदस्य निर्मला शर्मा, सदस्यसचिव छबीन्द्र पराजुली, मुख्य अधिकृत झबिन्द्र भुसाल, वितरण सम्परीक्षण समितिका सदस्य सन्तोष खड्का, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामशरण बोहरा, पत्रकार उज्ज्वल आचार्य र जन्मदेव जैसी तथा उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाँसहित काउन्सिलका कर्मचारीहरूले स्वागत गरेका थिए ।
नेपाली भाषाको पहिलो युनिकोड ब्लग ‘माइसंसार’ का संस्थापक तथा ‘नेपाल फ्याक्टचेक’ का सम्पादकका रूपमा परिचित श्रेष्ठलाई असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सूचना तथा सञ्चार मन्त्रालयको सिफारिसमा प्रेस काउन्सिल नेपालको अध्यक्षमा मनोनयन गरेको थियो । सञ्चार क्षेत्रमा ‘सालोक्य’ उपनामबाट पनि परिचित श्रेष्ठसँग छापा, टेलिभिजन, अनलाइन तथा डिजिटल पत्रकारितामा दुई दशकभन्दा बढीको अनुभव छ। वि.सं. २०३३ सालमा जन्मिनुभएका उहाँले आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।
उहाँले नयाँ सडक दैनिक, स्पेसटाइम दैनिक, सिटी टाइम्स, च्यानल नेपाल, एभिन्युज टेलिभिजन, नागरिकन्युज डटकम, अन्नपूर्णपोस्ट डटकम र पहिलोपोस्ट डटकमलगायत सञ्चारमाध्यममा कार्यअनुभव हासिल गर्नुभएको छ । सन् २००५ अप्रिल ६ मा नेपालकै पहिलो युनिकोड ब्लग माइसंसार डटकम सञ्चालनमा ल्याउनुभएका श्रेष्ठ सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपाल का संस्थापक सदस्यसमेत हुनुहुन्छ । साथै, सीएमआर जर्नालिज्म एकेडेमीमार्फत तथ्याङ्क पत्रकारिता, फ्याक्ट चेकिङ र डिजिटल सुरक्षासम्बन्धी तालिम सहजकर्ताका रूपमा पनि उहाँले योगदान दिँदै आउनुभएको छ ।




