आगामी भदौ २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अक्षरा’को डबिङ कार्य यतिबेला तीव्र गतिमा भइरहेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिएको हो । यसैक्रममा शुक्रबार फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्काले आफ्नो भागको डबिङ सम्पन्न गरेकी छन्। डबिङका क्रममा पर्दामा आफ्नो अभिनय र पात्रलाई हेर्दा उनी निकै उत्साहित देखिएकी थिइन्। आफ्नो भूमिकालाई अपेक्षाअनुसार न्याय दिन सकेको महसुस भएको बताउँदै उनले फिल्मप्रति थप आत्मविश्वास बढेको प्रतिक्रिया दिइन्।
सुपरहिट फिल्म **‘१२ गाउँ’**बाट अभिनय यात्रा सुरु गरेकी न्यान्सीका लागि ‘अक्षरा’ मुख्य अभिनेत्रीका रूपमा पहिलो फिल्म हो। यसअघि उनले अभिनेता अनमोल केसीसँग फिल्म ‘बाटुलो जून’मा पनि अभिनय गरिसकेकी छन्, जुन प्रदर्शनको तयारीमा छ। ‘अक्षरा’मा एकल मुख्य भूमिकाको जिम्मेवारी रहेकाले आफूले यस फिल्मका लागि विशेष मेहनत गरेको उनले बताएकी छन् । चलचित्र क्षेत्रमा आउनुअघि न्यान्सीले सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा कम्युनिकेसन स्टडिज (सञ्चार अध्ययन तथा वक्तृत्वकला)मा स्नातक तथा साइकोलोजीमा माइनर अध्ययन गरेकी थिइन् ।
अमेरिकामा रहँदा उनी मोडलिङ क्षेत्रमा पनि सक्रिय थिइन् र अन्तर्राष्ट्रिय Muver Paris Magazineमा समेत फिचर भएकी थिइन्। साथै, उनी मिस नेपाल इन्टरनेसनल २०२२की विजेता हुन् र जापानमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरिसकेकी छन् । फिल्ममा न्यान्सीको जोडी अभिनेता सुशील सिटौलासँग बाँधिएको छ । साथै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, अंशु महर्जन, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी र सृष्टि खड्काको पनि मुख्य भूमिका रहेको छ। बालकलाकारका रूपमा रोनक खड्का र प्रीसा ढुङ्गाना देखिनेछन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्ममा सोनी थापा (ढुङ्गाना)को प्रस्तुति रहेको छ। विनयराज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गाना हुन् भने कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने रहेका छन् । फिल्मको मूल कथा निर्माता उग्रसेन ढुङ्गानाकै हो भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन् । दिपेन बस्न्यातको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी तथा शंकर महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्म ‘अक्षरा’लाई नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले देशभर वितरण गर्नेछन् ।




