युवा गायक बिरज महर्जनका नयाँ नेपाली गीत ‘साइली’ र नेपालभाषाको ‘छ लिसे’ बोलका म्युजिक भिडियो एकसाथ सार्वजनिक भएका छन् । बिरजले आठ वर्षको उमेरदेखि नै सांगीतिक यात्रा सुरु गरेका हुन् । १३ वर्षको उमेरमै उनले एकल सांगीतिक साँझ प्रस्तुत गर्दै आफ्नो गायन प्रतिभाको परिचय दिएका थिए । त्यसपछि २०७० सालमा उनले ‘नयाँ किरण’ नामक अडियो एल्बम सार्वजनिक गरेका थिए। उनले सुरशाला म्युजिक एकेडेमीबाट औपचारिक रूपमा संगीत अध्ययन गरेका हुन् ।
हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका उनी नेपाल आउँदा नयाँ गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न सांगीतिक कार्यक्रममा सक्रिय रहने गरेका छन् । यसअघि उनले नेपालभाषाका ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’ र ‘छ लुइवोन हे जीवन’ लगायतका गीत सार्वजनिक गरिसकेका छन् । नेपाली गीततर्फ ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ पनि श्रोता–दर्शकमाझ लोकप्रिय छन् ।
सांगीतिक यात्राका क्रममा बिरजले विभिन्न राष्ट्रिय पुरस्कार पनि प्राप्त गरिसकेका छन् । उनले २०७४ सालमा ‘तुयु तुयु धागु’ गीतबाट पेज थ्री अवार्डअन्तर्गत बेस्ट न्यू आर्टिस्ट पुरस्कार जितेका थिए। त्यस्तै, ‘आमा’ गीतका लागि २०७५ सालमा नेसनल पावर न्युज म्युजिक अवार्डअन्तर्गत बेस्ट सङ अफ द इयर – इन्करेजमेन्ट अवार्ड प्राप्त गरेका थिए ।
यस्तै, ‘तुयु तुयु धागु’ बाटै उनले नेसनल बक्स अफिस अवार्डमा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) अवार्ड हात पारेका थिए। २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ गीतका लागि दोस्रो नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डअन्तर्गत बेस्ट मेल सिङ्गर – राइजिङ स्टार (जुरी) अवार्डबाट पनि सम्मानित भएका थिए । यसपटक भने बिरज नेपाली प्रेमगीत ‘साइली’ लिएर दर्शकमाझ आएका छन्। गीतमा उनको स्वर रहेको छ भने शब्द, संगीत तथा संगीत संयोजन जुगल डंगोलले गरेका छन् ।
गीतको म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठको अभिनय रहेको छ । भिडियोको छायांकन रकी महर्जनले गरेका हुन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गीले संयुक्त रूपमा गरेका छन् । भिडियोको निर्देशन रामकृष्ण खड्गीले गरेका हुन् । निर्माण टिमका अनुसार प्रेम र भावनाको सुन्दर कथालाई संगीत र दृश्यमार्फत प्रस्तुत गरिएको ‘साइली’ ले युवा पुस्तासँगै सबै उमेर समूहका श्रोता–दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।




