हिमालयन अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणका लागि विभिन्न विधामा उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको छ। विगत पाँच वर्षदेखि निरन्तर आयोजना हुँदै आएको अवार्डले यस वर्ष पनि नेपाली गीत–संगीतका स्रष्टा, कलाकार तथा प्राविधिकलाई विभिन्न विधामा प्रतिस्पर्धामा समेटेको हो ।
‘भाषा, साहित्य, कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अवार्ड आगामी साउन ३ गते (जुलाई १९) सिक्किमको याङयाङमा विशेष समारोहबीच सम्पन्न हुने आयोजकले जनाएको छ । अवार्ड संयोजक गीता अधिकारीका अनुसार आधुनिक, पप, लोकपप, लोकदोहोरीलगायत विभिन्न विधामा प्राप्त आवेदनका आधारमा उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।
अवार्डका अध्यक्ष गणेश सुवेदीले कार्यक्रममा नेपाली गीत–संगीत क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका स्रष्टालाई दीर्घ साधना सम्मान, विशिष्ट योगदान पुर्याएका संगीतकर्मीलाई विशेष सम्मान तथा कला पत्रकारितामा सक्रिय पत्रकारलाई समेत सम्मान गरिने जानकारी दिए। साथै, बाल प्रतिभालाई राइजिङ स्टार अवार्ड पनि प्रदान गरिने उनले बताए ।
यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्वर्गीय गुरुदेव कामत, वरिष्ठ गायिका चन्द्रकला शाह, ज्ञानु राणा तथा वरिष्ठ गायक खड्ग गर्बुजालाई प्रदान गरिएको थियो । यस वर्ष सार्वजनिक गरिएको मनोनयनमा गीतकार, संगीतकार, गायक–गायिका, मोडल, निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, श्रृंगार कलाकार, भाषाभाषी सिर्जना, लोकपप तथा लोकदोहोरीसहित विभिन्न विधाका स्रष्टा प्रतिस्पर्धामा रहेका छन् ।
आयोजकका अनुसार उत्कृष्ट मनोनयनमा परेका प्रतिस्पर्धीमध्ये विभिन्न विधाका विजेताको घोषणा अवार्ड समारोहमै गरिनेछ ।




