आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म **‘पार्वती’**को पहिलो गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ । निर्माण टिमले शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रत्यौली शैलीको यो गीत दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठको आकर्षक नृत्य देख्न सकिन्छ ।
विवाह समारोहमा खेलिने रत्यौलीलाई केन्द्रमा राखेर तयार गरिएको भिडियोमा दीपाश्री निरौलाले पुरुषको भेषमा प्रस्तुत हुँदै फरक शैली देखाएकी छन् भने नीता ढुङ्गाना महिलाकै परम्परागत पहिरनमा देखिएकी छन् । दुवैबीचको रमाइलो प्रस्तुति गीतको मुख्य आकर्षण बनेको छ । ‘नौतुना रेलैमा’मा रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको स्वर रहेको छ। गीतका शब्द हर्क साउदले लेखेका हुन् भने संगीत दीपक शर्माले दिएका छन् ।
संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका छन्। लोक स्वाद र आधुनिक प्रस्तुतीकरणको संयोजन रहेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । फिल्म ‘पार्वती’ अभिनेत्री नीता ढुङ्गानाको कथा तथा निर्देशनमा निर्माण भएको हो । फिल्ममा नीता स्वयं मुख्य भूमिकामा देखिनेछिन् । उनीसँगै दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायत कलाकारहरूको अभिनय रहेको छ ।
नीता ढुङ्गानाकै कथा तथा पटकथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले तयार पारेका हुन्। सुदीप बराल डीओपी रहेको फिल्ममा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको फिल्मका निर्माता हरिहर अधिकारी हुन् । साहिल खानले सम्पादनसँगै टिजर र ट्रेलर तयार पारिरहेका छन् भने पोस्टर डिजाइन रोयल भीमसेनले गरेका छन् ।
एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ । पहिलो गीत सार्वजनिक भएसँगै फिल्म ‘पार्वती’को प्रचारप्रसारले पनि गति लिएको छ ।




