फिल्म ‘टिका: स्टेटलेस सोल’ को छायांकन सुरु भएको छ । आइतबारदेखि कास्की जिल्लाको पामेबाट फिल्मको छायांकन थालिएको निर्माण टिमले जनाएको छ । ४० दिने छायांकन तालिकासहित फ्लोरमा गएको फिल्मको ३० दिन कास्कीमा नै छायांकन गरिनेछ भने बाँकी दृश्यहरू काठमाडौंलगायत अन्य स्थानमा खिचिनेछन् । कास्कीको पोखरा, पामे, सराङकोट, निरभानेलगायतका रमणीय स्थानमा फिल्मको मुख्य छायांकन गरिने कार्यकारी निर्माता तेजविक्रम केसीले जानकारी दिए ।
उनका अनुसार कास्कीका आकर्षक लोकेसनहरूले फिल्मको कथालाई थप जीवन्त र प्रभावकारी बनाउन सहयोग पुर्याउनेछन् । भविष्य फिल्म्स प्रालि र थर्ड आई आर्ट्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता भविष्य खड्का हुन् । निर्माण टिमले यसअघि नै फिल्मलाई तीजको अवसर पारेर आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ ।
शंकर कार्कीको निर्देशन रहने फिल्मलाई महिला प्रधान कथावस्तुमा आधारित बताइएको छ। आकाश उखेडा र जीवन ढुंगेल मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । फिल्ममा प्रियंका कार्की, वर्षा शिवाकोटी, महेश त्रिपाठी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल र आयुषी ढकालको मुख्य अभिनय रहनेछ ।

‘टिका: स्टेटलेस सोल’मा नरेन्द्र मैनालीको सिनेमाटोग्राफी रहेको छ । फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा)ले सम्हालेका छन् । फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत रहने निर्माण टिमले जनाएको छ ।




