गायक सुरेश कालिकोटे र गायिका सदीक्षा कट्टेलको स्वर रहेको नयाँ गीत ‘ऐना फुटेको’ सार्वजनिक गरिएको छ। गीत गायक कालिकोटेको आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । प्रेम, बिछोड र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा चर्चित गीतकार डीपी खनालको शब्द तथा लोकप्रिय संगीतकार शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। गीतको संगीत संयोजन विषम आचार्यले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा सदाबहार अभिनेता आर्यन सिग्देल र जुना सुन्दासको अभिनय रहेको छ। उनीहरूको भावनात्मक प्रस्तुतिले गीतको मर्मलाई प्रभावकारी रूपमा चित्रण गरेको छ । बिभोर पोखरेलको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकरको सिनेमाटोग्राफी, पुरन श्रेष्ठको कोरियोग्राफी तथा दिन्सन शाहको सम्पादन रहेको छ ।
सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ। प्रेम र बिछोडको कथालाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिएको ‘ऐना फुटेको’ले संगीतप्रेमीको मन छुने अपेक्षा गरिएको छ ।




