नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय गायक तथा संगीतकार सुरज कालाखेतीको नयाँ रोमान्टिक गीत ‘यसरी यसरी’ सार्वजनिक गरिएको छ । फिल्म तथा म्युजिक भिडियोका सफल छायाँकार जीवन पराजुलीको निर्देशन रहेको गीतको भिडियो विनु अधिकारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । क्यानाडाका विभिन्न रमणीय तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थानहरूमा छायांकन गरिएको भिडियोले प्रेम, भावना र सम्बन्धका मधुर पक्षलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ ।
आकर्षक दृश्य संयोजन र रोमान्टिक कथावस्तुले भिडियोलाई थप प्रभावशाली बनाएको निर्माण टिमको विश्वास छ । गीतमा चर्चित गीतकार डीपी खनालको शब्द, सुरज कालाखेतीको संगीत तथा सुरज कालाखेती र विनु अधिकारीको स्वर रहेको छ । गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रोमन बज्राचार्यले गरेका हुन् भने रेकर्डिङ राज रेकर्डिङ स्टुडियोमा सम्पन्न गरिएको हो ।
भिडियोमा विनु अधिकारी, रमन पराजुली, सुरज कालाखेती र नविना श्रेष्ठको अभिनय रहेको छ। कलाकारहरूको स्वाभाविक अभिनय, रोमान्टिक प्रस्तुतिकरण तथा क्यानाडाको मनमोहक प्राकृतिक दृश्यले भिडियोलाई थप आकर्षक बनाएको छ । भिडियोका छायाँकार उत्तम अर्याल हुन् । अनिता ओलीको मेकअप, मनोज बीकेको कोरियोग्राफी तथा राजेश कुमारको सम्पादन एवं कलर ग्रेडिङ रहेको भिडियोको निर्देशन जीवन पराजुलीले गरेका छन् ।
लामो समयदेखि नेपाली फिल्म तथा दर्जनौं म्युजिक भिडियोमा छायांकनको जिम्मेवारी सम्हाल्दै आएका पराजुलीले यसै भिडियोमार्फत निर्देशन क्षेत्रमा औपचारिक रूपमा पाइला टेकेका हुन् । उनको निर्देशन यात्राको सुरुआती प्रस्तुति ‘यसरी यसरी’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ ।




