प्रकाश चौहान प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता Man of the World 2026 मा नेपालको प्रतिनिधित्व गर्न बुधबार फिलिपिन्स प्रस्थान गरेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई ६ सम्म फिलिपिन्समा आयोजना हुँदैछ । विश्वका ३५ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने उक्त प्रतियोगितामा चौहान नेपालका एकमात्र प्रतिनिधि हुन् ।
उनले Mr. Nepal 2025 अन्तर्गत प्रदान गरिएको ‘म्यान अफ द वल्र्ड नेपाल २०२५’ उपाधि जित्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई रवि धमला, हिमाञ्चल राज केसी, गिरीश रत्न शाक्य, सन्तोष लोक्षुम र आयुष दुलाललगायतले शुभकामनासहित बिदाइ गरेका थिए ।
फिलिपिन्स प्रस्थानअघि चौहानले प्रतियोगितालाई केवल प्रतिस्पर्धा नभई नेपालको कला, संस्कृति, पर्यटन र पहिचान विश्वसामु चिनाउने अवसरका रूपमा लिएको बताए । उनले नेपाललाई भगवान बुद्धको जन्मभूमि, हिमालको देश र समृद्ध संस्कृतिको धनी राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उल्लेख गरे ।

सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै चौहानले लेखेका छन्, “नेपाल विश्व मञ्चमा चम्किन तयार छ ।”




